नेपालमै बन्न थालेसँगै सस्तो भयो प्रिमियम बाइक, बिक्रीमा आयो उछाल

काठमाडौं । बढ्दो स्कुटरको बिक्रीसँगै मोटरसाइकल किन्नेहरु ठूला र पावरफुल मोडलमा आकर्षित हुन थालेका छन् । पछिल्ला तीन वर्षको तथ्यांक हेर्ने हो भने २५० सीसी माथिको सेग्मेन्ट तिब्र गतिमा बिस्तार भएको देखिन्छ ।

मिड साइज प्रिमियम सेग्मेन्टमा उपलब्ध अधिकांश ब्राण्डका मोटरसाइकल नेपालमै एसेम्बल समेत हुँदै आएका छन् । त्यसैले मूल्यको हिसावले पनि यो सेग्मेन्टमा आकर्षण देखिएको हो ।

आर्थिक वर्ष २०७९/२०८० मा २५१ सीसीभन्दा माथिका मोटरसाइकल २ हजार १४१ युनिट आयात भएको थियो । त्यही समयमा रोयल इनफिल्डका मोटरसाइकल आएका थिएनन् । सरकारले पनि कर र वार्षिक करमा निरन्तर वृद्धि गर्दा मिडसाइज प्रिमियम मोटरसाइकलको आयात खुम्चेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा अचान मिड साइज मोटरसाइकलको बजार बढ्यो । गत वर्ष ११ हजार ९९ युनिट प्रिमियम मोटरसाइकल आयात भएको थियो । रोयल इनफिल्डले आफ्नो उत्पादन पुनः बजारमा ल्याएसँगै सेग्मेन्टमै उछाल आएको थियो । कम्पनीले नेपालमा एसेम्बल सुरू गरेर मूल्यमा भारी कटौती गरेसँगै मिड साइज प्रिमियम मोटरसाइकलको बजार ह्वातै बढेको हो ।

आव २०७९/८० मा ५०० सीसी माथिका मोटरसाइकल २ युनिट मात्र आयात भएकोमा आव २०८०/८१ मा ८१ यूनिट मोटरसाइकल आयत भएको थियो ।

अहिले नेपाली बजारमा २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा धेरै आकर्षण देखिन्छ । रोयल इनफिल्ड, ट्रायम्फ, सीएफमोटो, होन्डा जस्ता ब्रान्डले यस सेग्मेन्टमा उत्कृष्ट मोडल बिक्री गर्दै आएका छन् ।

पछिल्ला दिनमा कम्युनिटी बनाएर राइड गर्नेको संख्या बढ्दै गएको कारण पनि प्रिमियम सेग्मेन्टमा आकर्षण बढेको ट्रायम्फ नेपालका मेनेजर सागर थापा बताउँछन् ।

‘अहिले नेपालमा टूरिङ कल्चर बढ्दो छ । नेपालको टेरानहरु पनि अलि टफ नै भएका कारण पनि पावरफुल मोटरसाइकलको माग बढ्ने नै भयो’ थापाले भने ।

सजिलै फाइनान्समा मोटरसाइकल किन्न पाउनु अर्को कारण भएको पनि उनको भनाइ छ । उनि भन्छन्, ‘अहिले प्रिमियम मोटरसाइकलहरू पनि नागरिकताकै भरमा किन्न सकिने भएको छ । यसले अझै प्रिमियम मोटरसाइकल बिक्री बढ्ने पक्का छ ।’

अहिले बजारमा उपलब्ध कम्युटर सेग्मेन्टमा मोटरसाइकलको मूल्य मिड साइज सेग्मेन्टकै बराबर जस्तै भएको नाडाका सदस्य मेघराज पौडेल बताउँछन् ।

‘अहिले बजारमा १५० सीसीका मोटरसाइकलको मूल्यनै ४ लाख हाराहारीमा छन्, मिड साइज प्रिमियम मोटरसाइकल ५ लाखभन्दा कममै आउनुले पनि यो सेग्मेन्टमा आकर्षण बढेको हो’ पौडेलले भने ।

मिड साइज सेग्मेन्टका मोटरसाइकल कम्युटर सेग्मेन्टको तुलनामा धेरै सुरक्षीत हुने हुँदा पनि प्रयोगकर्ता सन्तुष्ट रहेको उनको भनाइ छ । उनि भन्छन्, ‘नेपालमा ३०० सीसीदेखि माथिका मोटरसाइकलको दुर्घटनामा हुने क्षतीको दर एकदमै न्यून छ । यसले पनि मिड साइज सेग्मेन्टमा ग्राहक बढेका छन् ।’

सीएफ मोटो नेपालका जनरल मेनेजेर उज्जल जोशीका अनुसार नेपालमै एसेम्बल भएर मूल्य घटेसँगै मिड साइज सेग्मेन्टका मोटरसाइकलको बिक्री बढेको हो ।

‘नेपालमा यो सेग्मेन्टमा धेरै मोटरसाइकल कम मूल्यमा आउन थाले, ग्राहकलाई छनोट बढेसँगै यसको बिक्री पनि बढ्यो’ जोशीले भने ।
यो सेग्मेन्टमा क्वालिटी र मूल्यमा प्रतिस्पर्धा बढेको कारण ग्राहकले पनि धेरै फाइदा पाएको जोशी बताउँछन् ।


Back_to_top