काठमाडौं । हुन्डाईको लग्जरी एमपीभी स्टारिया पनि ईभीमा आउने भएको छ । केही दिन अगाडि जर्मनीको नम्बर प्लेटमा पूर्ण ढाकेर परीक्षण भइरहेको अवस्था स्टारिया देखिएको हो ।
हुन्डाई स्टारियाको डिजेल भर्सन विश्वभर निकै चर्चा कमाएको मल्टी पर्पस भ्यान हो । यसलाई सन् २०२१ मा पहिलो पटक हुन्डाईले बिक्री सुरू गर्दा निकै फ्युचरस्टिक डिजाइन भनेर प्रशंसा गरिएको थियो । अहिले पनि यो निकै स्टाइलिस एमपीभी नेपाली बजारमा एक्बुलेन्सको रूपमा उपलब्ध गराइएको छ ।
परीक्षणको क्रममा देखिएको स्टारियाको धेरै भाग छोपिएको छ । त्यसैले स्टारिया ईभीमा पेट्रोलियमको तुलनामा कति भिन्नता छ भन्ने बुझ्न कठिन छ । हुन्डाईले अहिलेसम्म यसको डिटेल फिचरको विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न रिपोर्ट अनुसार यसमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहने छ ।
३५० न्यूटन मिटर पीकटर्क रहने स्टारियामा दुई ब्याट्री अप्सन उपलब्ध हुने दाबी गरिएको छ । जसमा ६३ किलोवाट आवर र ७६ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । धेरै रिपोर्टहरूले आयोनिक-५ मा रहेको ८४ किलोवाट आवरको ब्याट्रीमा पनि स्टारिया आउन सक्ने दाबी गरेका छन् ।
हुन्डाईले ईभी लाइनअप बलियो बनाउँदै लगेको छ । नेपालमा पनि हुन्डाई क्रेटा ईभी, कोना ईभी र आयोनिक-५ बिक्री वितरण हुँदै आएको छ ।
कोरियामा इन्टर ईभीको विभिन्न भेरियन्टहरू पनि उपलब्ध हुँदै आएको छ । साथै, आयोनिक-९ पनि विश्व बजारमा बिक्रीको लागि तयार छ ।

