काठमाडौं । भारतीय मोटरसाइकल उत्पादक कम्पनी हिरोसँग मिलेर अमेरिकी प्रसिद्ध मोटरसाइकल उत्पादक कम्पनी हार्ले डेभिडसनले उत्पादन गरेको पहिलो मोडलको तस्बीर सार्वजनिक भएको छ । कम्पनीले उत्पादन गरेको ‘हार्ले एक्स ४४०’ को तस्बीर बाहिर आएको हो ।
कम्पनीले हालै सार्वजनिक गरेको तस्बीर यसअघि सार्वजनिक भएको तस्बीरको तुलानामा प्रष्ट देखिएको छ । यसका के कस्ता फिचर समावेश छन् भनेर सजिलै अनुमान लगाउन सकिने खालको छ ।
हार्ले एक्स ४४० मा सिगंल सिलिन्डर, आयल कुल्ड इन्जिन दिइएको छ । हार्लेले यसमा चेन ड्राइभको प्रयोग गरेको छ । कम्पनीले यसलाई क्रुजर मोटरसाइकलको पोजिशनमा ल्याउने छ ।
हिरो मोटोकर्पले हार्लेको तस्बीर भारतीय मिडियालाई उपलब्ध गराएर एक्स ४४० चाँडै बजारमा आउने खुलासा गरेको हो ।
तस्बीरमा देखिए अनुसार एक्स ४४० को एक्जष्ट, टर्न इन्डिकेटर तथा हेडल्याम्प रेट्रो डिजाइनको छ । त्यस्तै एलइडी डिआरएलसतिहको हेडल्याम्प पाउन सकिन्छ । यसमा डबल च्यानल एबीएस, अलोय ह्वील, एलइडी इन्डिकेटर जस्ता फिचर उपलब्ध हुनेछ ।


