काठमाडौं । साओमीको विद्युतीय कार दुर्घटनामा चालकको मृत्यु हुनुमा ढोकामा पावर सप्लाइ कट हुनु मुख्य कारण देखिएको छ । घटनाको फोरेन्सिक रिपोर्टका अनुसार तीव्र गतिमा दौडिरहेको कार दुर्घटनापछि पावर सप्लाइ बन्द भएसँगै ढोका नखुलेको रिपोर्टले देखाएको हो ।
सन् २०२५ अक्टोबर १३ तारिखमा चीनको छेन्दु सहरमा उक्त दुर्घटना भएको थियो । १६५ किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडिरहेको साओमीको कार विपरित दिशाबाट आइरहेको अर्को गाडीमा ढोकिएको थियो । गाडी ठोक्किएपछि डिभाइडर पार गरेर आगलागी भएको थियो ।
सिचुआन हुआक्सी यातायात न्यायिक मूल्यांकन केन्द्रको फोरेन्सिक रिपोर्टले कार दुर्घटना हुनु अगाडि २०३ किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडिएको देखाएको छ । अर्को गाडीसँग ठोकिँदा १६७ किलोमिटर प्रतिघण्टाको स्पीड रहेको र ठोक्किएर डिभाइडरमा ठोक्किँदा पनि १३८ किलोमिटर प्रतिघण्टाको स्पीड रहेको देखाएको छ ।
सुरक्षा विज्ञहरूले यस गाडीमा आगलागी सुरू हुँदा पनि ढोका खोल्न नसकिएको विषयलाई सबैभन्दा चिन्ताजनक भनेका छन् ।
प्रत्यक्षदर्शीहरूका अनुसार दुर्घटनापछि पनि चालक जीवित थिए । ढोका कतैबाट पनि खोल्न सकिएको थिएन । दुर्घटनाको ५ मिनेट भित्र तीन फरक स्थानमा ठूलो आगलागी भयो ।
बाहिर आएको भिडियो फुटेजमा पनि एक व्यक्तिले धेरै बल लगाएर ढोका खोल्न प्रयास गरेको देखिन्थ्यो । अर्का व्यक्तिले ढोकाको सिसा फुटाए पनि भित्रबाट पनि खुल्न नसकेको र तत्कालै आगलागी सुरू भएको कारण चालकलाई गाडीबाट बाहिर ल्याउन सकेनन् ।
उक्त घटनापछि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले विद्युतीय कारमा ब्याट्री थर्मल रनवे वा ब्याट्री डाउन जुनसुकै अवस्था सृजना भए पनि ढोका म्यानुअल तरिकाबाट खुल्ने बनाउन उत्पादकलाई निर्देशन दिइसकेको छ ।
दुर्घटना रातको ३ बजे भएको र चालकले मादक पदार्थ सेवन गरेको बताइएको छ । तथापि, चालक जीवित रहँदा उद्धार गर्न नसकेको भन्दै प्रोडक्ट नै सुरक्षाका लागि जिम्मेवार रहेको मृतकका परिवारले दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

