चुनावको ७२ घण्टा अघिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडौं । निर्वाचनको दिन (फागुन २१ गते)को तीनदिन अघिदेखि अन्तर्राष्ट्रि सीमा नाका बन्द हुने भएको छ ।

निर्वाचन आयोगले निर्वाचनको मितिभन्दा ७२ घण्टा अघिदेखि भारत र चीनसँग सीमा जोडिएका जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको हो ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ को खण्ड (झ) मा रहेको व्यवस्था अनुसार सीमानाका बन्द गराउने निर्णय गरेको हो ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउने,’ आयोगको निर्णयमा भनिएको छ ।

सबै अन्तराष्ट्रिय सीमा नाका बन्द हुने भएसँगै चार दिन सडकमार्ग हुँदै आयात निर्यात ठप्प रहने छ ।

त्यस्तै, आयोगले आवश्यक सहजीकरण र समन्वयका लागि सम्पूर्ण सरोकारवालाहरूमा आग्रह समेत गरेको छ ।

त्यसैगरी, आयोगले मतदानको मितिभन्दा ७ दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ ।

मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान नियमित संचालनको व्यवस्था मिलाउन भनेको छ ।


Back_to_top