फागुन २० गते रातिदेखि सवारी चलाउन रोक, यी सेवाका भने पाइने

काठमाडौं । फागुन २० गते राति १२ः०० बजेदेखि २१ गते मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक र निजी सवारी साधन चलाउन नपाइने भएको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार फागुन २० गते राति १२ बजेदेखि भोलिपल्ट मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका बाहेक अन्य कुनै पनि सवारी साधन चलाउन पाइने छैन ।

उक्त अवधिमा अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी भने संचालन गर्न पाइने छ ।

त्यसैगरी, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चलाउन पाइने छ ।

आयोगले जारी गरेको सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाई खडा गरिने छ।

मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् संचालनको व्यवस्था मिलाइएको छ। अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ।


Back_to_top