काठमाडौं । साओमीले हिजोबाट चिनियाँ ग्राहकलाई दिन सुरु गरेको वाइयू-सेभेन इलेक्ट्रीक एसयूभी आज बुकिङ गर्ने ग्राहकले ६२ हप्तापछि मात्रै डेलिभरी पाउने छन् ।
चिनियाँ टेक्नोलोजी जाइन्टले सार्वजनिक गरेको वाइयू-सेभेन बुकिङ खुला भएको ३ मिनेटमै २ लाख युनिट बुकिङ भएको थियो । सुरुवाती एकघन्टामै झण्डै ३ लाख युनिट बुकिङ भएको वाइयू-सेभेन साओमीले ग्राहकलाई हस्तान्त्रण सुरु गरेको हो ।
उपभोक्तालाई गाडी डेलिभरी सुरु गर्दै कम्पनीले भनेको छ, ‘आगामी ६२ हप्ताको उत्पादन बिक्री भइसकेको छ । अहिले बुकिङ गर्नेले ६२ सातापछि मात्रै डेलिभरी पाउने छन् ।’
यति धेरै चिनियाँ उपभोक्ताको क्रेज देखिएको साओमी वाइयू-सेभेनलाई ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । यसको लम्बाइ ४९९९ एमएम, चौडाइ १९९६ एमएम र उचाइ १६०८ एमएम छ । यसमा ३००० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।
चीनकै सबैभन्दा कान्छो स्टार्टअप कम्पनीको रुपमा उत्पादन थालेको साओमीले आफ्नो दोस्रो मोडल वाइयू-सेभेनको सुरुवाती मूल्य ३५ हजार अमेरिकी डलर तोकेको छ । यसको टप भेरियन्ट किन्ने ग्राहकले ४६ हजार डलरसम्म तिर्नु पर्ने हुन्छ ।
सन् २०२४ मार्चमा पहिलो मोडल एसयू-सेभेन ल्याएको साओमीले पहिलो वर्ष २ लाख ७२ हजार युनिट बिक्री गरेको थियो ।
साओमीले आफ्नो दोस्रो मोडल वाइयू-सेभेनमा ९६.३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ८३० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा २३५ किलोवाट क्षमताको मोटर छ ।

साओमीले आफैँ बनाएको ५२८ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल १२ मिनेट लाग्नेछ ।
अल ह्वील ड्राइभको पछाडि २३५ र अगाडि १३० किलोवाटको मोटर छ । दुबैको संयुक्त पावर ३६५ किलोवाट (४८९ हर्सपावर) हुनेछ । अल ह्वील ड्राइभ भेरियन्टको सीएलटीसी रेन्ज ७७० किलोमिटर छ ।
वाइयू-सेभेनको सबैभन्दा महंगो ४६ हजार डलर पर्ने भेरियन्टमा निकै पावरफुल मोटर छ । यसमा ५०८ (६८१ हर्सपावर)को मोटर पाउन सकिन्छ । यसले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केबल ३.२३ सेकेन्डमा भेट्टाउने छ । यस भेरियन्टमा भने १०१.७ किलोवाट आवरको हाइपर्फमेन्स एनएमसी ब्याट्री छ ।


