भारतमा छुट्टिँदै रेनो-निसान एलायन्स, रेनोले खोज्यो नयाँ पाटर्नर

काठमाडौं । भारतमा रेनो-निसान एलायन्स टुट्ने भएको छ । विगत लामो समयदेखिको साझेदारी रेनोले नयाँ साझेदार खोज्न थालेसँगै टुट्ने भएको हो ।

फ्रेन्च कार निर्माता रेनो नयाँ साझेदारीको लागि भारतमा जेएसडब्लु ग्रुपसँग वार्ता सुरु गरेको समाचारहरु बाहिर आएका छन् । जेएसडब्लू ग्रुपसँग अहिले एमजी ब्राण्डको ३५ प्रतिशत हिस्सा रहेको छ ।

रेनो र निसान बीच चल्दै आएको लामो सहकार्य अब अन्तिम चरणमा पुगेको छ । फ्रेन्च कार निर्माता रेनोले भारतको चेन्नाईमा रहेको उत्पादन प्लान्टको सम्पूर्ण हिस्सा खरिद गर्न लागेको हो ।

रेनोले निसान ग्लोबलमा रहेको आफ्नो १५ प्रतिशत सेयरलाई १० प्रतिशतमा झार्ने निर्णय गत मार्चमा नै गरेको थियो ।

भारतमा टिक्न साना कार बनाउँदै रेनो

धेरैजसो युरोपेली कार कम्पनीहरू भारतमा टिक्न सकेका छैनन् । रेनोले भने भारतको लागि फरक रणनीति बनाएर काम गरिरहेको छ । कम्पनीले भारतमा केवल ४ मिटरभन्दा साना कारहरु मात्रै उत्पादन र बिक्री गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ ।

अहिले रेनोले भारतको लागि क्वीड, ट्राइबर र काइगर गरी तीन मोडल उत्पादन गर्दै आएको छ । यी मध्ये सबैभन्दा धेरै बिक्री हुने कार ट्राइबर हो । जुन भारतमा पाइने सबैभन्दा सस्तो ७ सिटे एमपीभी हो । साथै, कम्पनीले सबै मोडलमा इन्जिन पनि १.० लिटर पेट्रोल प्रयोग गरेको छ ।

एकै प्रकारको इन्जिन र गियरबक्स प्रयोग गरेर कार उत्पादन गर्दै आएको कारण मूल्य नियन्त्रण गर्न कम्पनीलाई सहज भएको छ ।

अटो उद्योगमा जेएसडब्लूको चासो बढ्दै

सज्जन जिन्दाल समूह अन्तर्गतको जेएसडब्लु ग्रुपले यसअघि नै चिनियाँ एसएआइसी ग्रुपसँग साझेदारी गर्दै आएको छ । एमजी इन्डियामा ३५ प्रतिशत सेयर जिन्दाल समूहसँग छ ।

जेएसडब्लू ग्रुप विद्युतीय सवारी साधन उत्पादनमा चासो राख्दै आएको छ । त्यसैले उसले युरोपियन ब्राण्ड रेनोमा चासो देखाएको अनुमान गर्न सकिन्छ । रेनोले छिट्टै भारतमा ईभी लाइनअप लन्च गर्ने तर्खरमा रहेको बताइन्छ ।


Back_to_top