काठमाडौं । चिनियाँ इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादक कम्पनी याडियाले पोर्श्चेसँग मिलेर विद्युतीय स्कुटर बजारमा ल्याएको छ । यसअघि स्कुटर सेग्मेन्टमा निकै राम्रो सफलता हात पारेको याडियाले अब पोर्श्चेसँग मिलेर स्कुटर ल्याएको हो ।
कम्पनीले बनाएको नयाँ ‘भीएफ एफ-२००’ इलेक्ट्रीक स्कुटर विश्व प्रसिद्ध कार निर्माता पोर्श्चेसँगको सहकार्यमा बनाएको कारण यसको बिक्री पनि यूरोपबाटै सुरु गरेको छ ।
सिंगल चार्जमा १४० किलोमिटर गुडाउन सकिने ‘एफ २००’ विद्युतीय स्कुटरमा ११ किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ । यसको पीक टर्क २३६ एनएम भएको कारण स्पीड पनि निकै राम्रो रहेको छ । यो बजारमा उपलब्ध १५० सीसी क्षमता भएका स्कुटरकोभन्दा बढी पावर हो ।
कम्पनीका अनुसार यसले सून्यदेखि ५० किलोमिटर प्रतिघन्टाको स्पीड केबल २.५ सेकेन्डमा नै भेट्टाउने छ । यसमा २७ एम्पीयरको दुई ब्याट्री दिइएको छ । कम्पनीले यसको सिट मुनी करिब ३१ लिटर बुट स्पेश पनि दिएको छ ।

आधुनिक फिचर लोडेड एफ २०० मोडलमा ७.५ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । यसले चालकलाई आवश्यक पर्ने सबैकिसिमका सूचना दिनेछ । यसलाई यूरोपियन बजारमा ६ हजार ४०० डलर मूल्य तोकेर बिक्री सुरु गरिएको हो ।


