काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको असरको कारण अत्याधिक गर्मी हुने, हिमाली भेग धेरै भएका र समुद्री सतहमा रहेका देशहरु उच्च जोखिममा रहेको भन्दै त्यसका विरुद्ध चेतना जगाउन शुभप्रसाद शर्माले विश्व साइकल यात्रा सुरु गर्ने भएका छन् ।
उनले याडियाले नेपालमा विक्री गर्दै आएको इलेक्ट्रीक साइकलमा यो यात्रा तय गर्ने भएका हुन् । विश्वमा ब्यापक मात्रामा उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग भएको र विश्वको तापक्रम लगभग १.२ डिग्री सेल्सियसले बढेको भन्दै उनले विद्युतीय साधनमा यात्रा गर्न लागेको जनाएका छन् ।
शर्माले साइकलमार्फत नेपालको झण्डा बोकेर भारत, बंगलादेश, म्यानमार, लावस, कम्बोडिया, भियातनाम, थाइल्याण्ड, मलेसिया, सिंगापुर हुँदै यूरोपियन देशको यात्रा गर्ने जानकारी दिए ।
उनले आफ्नो यात्रा करिब ५ वर्षको हुने अनुमान गरेका छन् । योभन्दा थप समय लागे पनि आफ्नो लक्ष्य पुरा गरेर मात्र नेपाल फर्किने उनले बताए । जलवायु परिवर्तनसँग जुधिरहेको विश्वलाई संदेश दिन आफ्नो यात्रा सहयोगी हुने उनको दावी छ ।
याडियाको आधिकारीक वितरक कुजु नेपाल प्रालिले यात्राको क्रममा आवश्यक पर्ने सर्भिसको सुविधा याडियाले प्रदान गर्ने जनाएको छ । विश्वका धेरै देशमा याडियाको सर्भिस र सेल्स नेटवर्क रहेको कारण शर्माको यात्रामा याडियाले सहजिकरण गर्ने जनाएको छ ।
‘अहिले हामीले अतिरिक्त मोटर र ब्याट्री दिएका छौं, उहाँको यात्रा हुने ठाँउमा याडियाले आवश्यक सर्भिस प्रदान गर्नेछ’, कुजु नेपालका निर्देशक उमिद श्रेष्ठले भने ।


