यामाहा फसिनो १२५ को चर्चा चुलिदै, मूल्य २ लाख ४९ हजार

काठमाडौं । नेपालको लागि यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले क्लासिक युरोपियन स्टाइलको फसिनो १२५ नेपालमा केही समय अगाडिबाट बिक्री सुरु गरेको छ । कम्पनीले यो स्कुटर सार्वजनिक गरेसँगै १२५ सीसी स्कूटरको सेग्मेन्टमा प्रवेश गरेको छ ।

लकडाउनले यसको बिक्री वितरण केही समय पछाडि धकेलिएको थियो । हाल सडकमा ‘अल न्यू यामाहा फसिनो १२५ देखिन थालेको छ । क्लासिक रेट्रो लुकका कारण यो स्कुटर सडकमा सहजै पहिचान बनाउन सक्ने देखिन्छ ।

अल न्यू फसिनोमा १२५ सीसी एफआई बीएस ६ मापदण्डको इन्जिन रहेको छ । योसँगै नेपालमा पहिलो बीएस ६ इन्जिनको दुई पाङ्ग्रे सवारीसाधन फसिनो १२५ बनेको छ । यो इन्जिन पुरानो फेसिनोको तुलनामा सशक्त छ भने यसको पावर क्षमतामा ३० प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ७.९ एनएम टर्क जेनेरेट गर्छ ।

यसका साथै यो एफआई बीएस ६ इन्जिनले इन्धनको बचत समेत १६ प्रतिशत ज्यादा गर्छ । यो स्कुटरको तौल ९९ केजी रहेको छ भने यो सेग्मेन्ट कै हलुका स्कूटर पनि हो ।

अहिले इन्धन मितव्ययिता र कम उत्सर्जनका लागि एफआई प्रविधि अनिवार्य जस्तै बनेको छ । बीएस ६ मापदण्डमा त एफआई प्रविधि अनिवार्य नै रहेको छ । एफआई सिस्टममा डिजिटल प्रविधिमार्फत इन्धन आपूर्तीलाई नियन्त्रण गर्ने इन्जेक्टर हुन्छन् जसले कम्बस्चन चेम्वरमा हावा र इन्धनको मात्रालाई निश्चित बनाइदिन्छ ।

१ भाग पेट्रोलमा १४ं७ भाग हावा भए यसले सबैभन्दा बढी उर्जा दिन्छ । ‘कन्सिस्टेन्ट पावर आउटपुट’, उच्च माइलेज, सफा उत्सर्जन र ‘कोल्ड स्टार्ट’ एफआई प्रविधिका फाइदा हुन् ।

नयाँ फसिनो १२५ एफआइमा स्मार्ट मोटर जेनेरेटर (एसएमजि) पनि जडान गरिएको छ, जसले विद्युतीय नियन्त्रणहरु प्रयोग गरेर सजिलै इन्जिन सुचारु गराउँछ र अन्तर्राष्ट्रिय यामाहा सिरिजहरुमा भए जस्तै साइड स्ट्याण्ड इन्जिन कट-अफ स्वीच पनि यसमा रहेको छ ।

यो स्कूटरमा यूबीएस ब्रेकिङ्ग सिस्टमका साथ फ्रन्टमा डिस्क ब्रेक रहेको छ । फसिनो १२५ एफआई नेपाली बजारमा बिभिन्न ५ रङ्गहरुमा उपलब्ध रहेको छ ।

‘फेस्सिनो अझै पनि यामाहा परिवारमा हामीले सुन्दै आएको एक ख्यातिप्राप्त नाम हो । हामीले फेस्सिनोलाई एक शक्तिशाली इन्जिनका साथ सुसज्जितमात्र गरेका छैनौ साथमा प्रमुख स्टाइलहरुमा पनि परिमार्जन गरेका छौं । योसँगै नयाँ फसिनो १२५ एफआइले यसका अघिल्लो मोडलले जस्तै परम्परा कायम गर्ने निश्चित छ र आजका पुस्ताका बढ्दो आवश्यकताहरुलाई पूरा गर्न सक्नेछ ।’ यामाहा नेपालका बजार प्रमुख विक्रम शर्मा पौडेललले भने ।

नेपाली बजारमा यसको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


Back_to_top