कोरोना संक्रमणमा यामाहाले दियो जिम्मेबार ‘कर्पोरेट हाउस’को परिचय

काठमाडौं । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजको कार्यालयमा देखिएको कोरोना संक्रमणलाई कम्पनीले पुष्टि गरेको छ । एमएडब्ल्यु इन्टरप्राइजेजले जिम्मेबार ‘कर्पोरेट हाउस’को परिचय दिँदै सूचना प्रकाशन गरी आफ्नो कार्यालयमा कोरोना संक्रमण भेट्टिएको र त्यसको व्यवस्थापन समेत भइसकेको बताएको छ ।

अहिलेको असामान्य अवस्थामा देखिएको विषयलाई नलुकाई कन्ट्रायाक ट्रेसिङ र पिसिआर परिक्षण गरी उपचार र आइसोलेसनलाई जोड दिनु पर्ने बताउँदै कम्पनीले आफ्ना कर्मचारीमा कोरोना संक्रमण भएको र त्यो व्यवस्थापनसमेत भइसकेको जनाएको छ । खुल्ला सञ्चार नीति अबलम्बन गरिरहेको एमएडब्लुले जिम्मेबार भई वास्तविकता सार्वजनिक गरेको यामाहा टु ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले बताए ।

गत आइतबार यामाहाका एक जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि उनीसँगै काम गर्ने सबै ६१ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमा थप पाँच जनामा संक्रमण देखिएको थियो । अहिले संक्रमित विमारीहरु अस्पतालमा उपचार गराइ रहेको सूचनामा उल्लेख छ ।

परिक्षणमा यामाहा शोरुममा काम गर्ने कुनैपनि कर्मचारीलाई संक्रमण नरहेको र दुई दिन कार्यालय बन्द गरेर काठमाडौं महानगरपालिकाबाट ‘फ्युमिगेट’ गराएको र अहिले २५ प्रतिशत कर्मचारीबाट सुरक्षाका सबै प्रोटोकल पालना गरी काम गरिरहेको शाहले बताए ।

उनले एमएडब्लुको कुनै पनि शोरुममा कोरोनाको कुनै केस नदेखिएकाले नियमित रुपमा स्यानिटाइज गरेर, सुरक्षा प्रोटोकल र सामाजिक दुरी कडाइका साथ पालना गरी संचालन गरिएको बताए । उनले आवश्यक परे सम्बन्धित निकायबाट आफ्नो शोरुमको सुरक्षा जाँच गराउन तयार रहेको बताए ।

अबको दिनमा सतर्कता अझै बढाउदै अनावश्यक प्रवेश र चहलपहलमाथि रोक लगाउँदै व्यवसायलाई निरन्तरता दिने कम्पनीले जनाएको छ । साथै, कोरोनाले महामारीको रुप लिएपछि कर्मचारीको मनोबल बढाउन सबै कर्मचारीको कोरोना बीमासमेत गरिएको कम्पनीले जनाएको छ ।


Back_to_top