काठमाडौं । किया मोटर्स इन्डियाले किया सोनेट सब फोर मिटर एसयूभी आज ग्लोबल प्रिमियर गर्ने भएको छ । कम्पनीले यसअघि नै अगस्ट ७ तारिखमा सोनेट सार्वजनिक गर्ने घोषणा गरेको थियो ।
किया सोनेटले सब फोर मिटर एसयूभी सेग्मेन्टमा आफ्नो बोल्ड डिजाइनको कारण धेरै युवाको मन जित्ने अनुमान गरिएको छ । सोनेट कियाले भारतमा उत्पादन सुरु गरेको दोस्रो मोडल हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो, जुन नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ ।
सोनेट कियाको ग्लोबल मोडल हो । ‘द पावर टू सरप्राइज’ स्लोगनका साथ आउन लागेको सोनेट नेपालमा पनि आउने पक्का छ । संभवत भारतमा बिक्री सुरु भएको केही दिनमा नै सोनेट नेपाल आउने छ ।
यसले बजारमा हुन्डाई भेन्यू, टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, फोर्ड इकोस्पोट, महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ । यस्तोमा सोनेटमा रहने मुख्य ५ फिचर यसप्रकार रहने छन् ।

सोनेटमा सेग्मेन्टकै सबैभन्दा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम रहने छ । किया सेल्टोसको जस्तै १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहने छ ।
युवालाई आकर्षित गर्न कियाले सोनेटमा बोसको साउन्ड सिस्टम दिएको छ । साथै, कियाको यूभीओ कनेक्टेड कार टेक, इलेक्ट्रीक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस मोवाइल चार्जर, मल्टी इन्फर्मेशन डिस्प्ले, पुस बटम स्टार्ट/स्टप जस्ता फिचर उपलब्ध रहेको छ ।
यसमा पेट्रोल इन्जिनको अलावा ६ स्पीड टर्क कन्भटर सहितको अटोमेटिक डिजेल इन्जिन उपलब्ध रहने छ । यसलाई कम्पनीले १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो चार्ज्ड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा आउने छ ।
हुन्डाईले भेन्यूमा दिएको इटेलिजेन्ट म्यानुयल ट्रान्समिशन (आईएमटी) गियरबक्स यसको १.२ लिटर पेट्रोल इन्जिनमा रहने छ । यी सबै फिचर रहने सोनेट किया मोटर्सको सबैभन्दा सस्तो एसयूभीको रुपमा यो बजारमा आउने छ । नेपाली बजारमा यसको मूल्य हुन्डाई भेन्यूको बराबर नै हुने अनुमान गरिएको छ ।

