टोयोटाको कम मूल्यका गाडी चढ्न कम्तीमा २ वर्ष कुर्नु पर्छः रीतु सिंह बैद्यको अन्तर्वार्ता

विगत ५४ वर्षदेखि नेपाली बजारमा टोयोटाका कारहरु बिक्री वितरण गर्दै आएको यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि देशकै पुरानो मध्यको एक सवारी साधन बिक्री गर्ने कम्पनी हो । लामो समयदेखि टोयोटाका कार तथा एसयूभीहरुको बिक्री वितरण गर्दै आएको कम्पनीले ल्याउने गाडीहरु गुणस्तर, सर्भिस र बिक्री पछिको मूल्यका कारण सधै चर्चामा रहने गरेका छन् ।

विश्वकै ठूलो कार निर्माता कम्पनीसमेत रहेको टोयोटाले समय सापेक्षरुपमा सवारी साधनको प्रविधिमा परिवर्तन गर्दै आएको छ । ग्यासोलिन, हाइब्रिड, इलेक्ट्रीक र हाइड्रोजन फ्यूलसेल जस्ता टेक्नोलोजीमा आधारित रहेर गाडी उत्पादन गर्दै आएको कम्पनीका ग्यासोलिन र हाइब्रिड कारहरु नेपाली बजारमा बिक्री वितरण हुँदै आएका छन् ।

टोयोटाले विगत २० वर्षदेखि नेपालमा सार्वजनिक यातायातमा प्रयोग दुँदै आएका हायस, पीकअप, कारदेखि ठूला ल्याण्डक्रुजरसम्म बिक्री गर्दै आएको छ । यस्तोमा प्रिमियम ब्राण्डहरुको बाक्लो उपस्थिति बढ्दै गएको बजारमा टोयोटाको भाबी योजना, सर्भिस र टेक्नोलोजिमा आधारित रहेर कम्पनीका प्रबन्ध निर्देशन रीतु सिंह बैद्यसँग मेरोअटोले गरेको कुराकानीको सम्पादित अंशः

टोयोटा विश्वमा नै सबैभन्दा बढी प्यासेन्जर कार बिक्री गर्ने कम्पनी हो भने यूटिएस नेपालकै पुरानो मध्यको एक कम्पनी हो । अहिले बजारमा नयाँ नयाँ ब्राण्डहरु आइरहेका छन् । अब टोयोटाले नेपालमा आफुलाई कसरी अगाडि लान्छ ?

हामीले नयाँ योजनाहरु तयार गरेका थियौं । त्यो योजना कोभिडको कारण चौपट भएको छ । अब कसरी अगाडि जाने भन्ने विषयमा हामीले टोयोटा जापानसँग कुराकानी गरिरहेका छौं । विश्वकै अग्रणी कम्पनीले हरेक देशमा अहिलेको समस्यालाई भोगेको छ । यस्तोमा उनीहरुले बनाउने प्लानलाई हामीले पछ्याउदा मात्रै पनि हामीले समस्यापछिको बाटो पहिल्याउन सक्छौं ।

यो शताब्दीकै ठूलो चुनौतिको अवस्था हो । यससँग कसरी लड्ने भनेर प्यारेन्ट कम्पनीदेखि यहाँ हामीले पनि योजना बनाइ रहेका छौं । पछिल्ला केही वर्षदेखि अटोमोवाइल सेक्टरमा ठूला परिवर्तन देखिएको छ । यसअवधिमा ग्यासोलिनमा नयाँ प्रयोगहरु भएका छन् । हाइब्रिड, इलेक्ट्रीक र हाइड्रोजन फ्यूलसेल जस्ता बैकल्पीक उर्जाबाट चल्ने सवारी साधन निर्माणमा कम्पनीहरुले काम गरिरहेका छन् । यसले धेरै ठूला परिवर्तनको संकेत गरिरहेको छ । अब अहिले आएको कोभिड १९ को कारण निकै ठूलो समस्या सृजना भएको छ । अहिले सबै कम्पनीले उत्पादनमा कटौति गरिरहेका छन् । हरेक मानिसलाई अनुभव गराएर बिक्री गर्नु पर्ने साधनहरुमा अहिले चुनौति देखिएको छ ।

सर्भिस, स्पेयर पार्टस जस्ता क्षेत्रमा हामी केन्द्रित भएका छौं । बिक्री नेटवर्क विस्तारको मामलामा हामी अन्य कम्पनी जस्तो आक्रमक छैनौ ।

मिलेनियम च्यालेन्जका रुपमा टोयोटाले लिदैँ आएको नयाँ प्रविधि, नयाँ उत्पादन, नयाँ बजार, नयाँ बजार चेन निर्माण जस्ता विषय आफैमा चुनौति पूर्ण रहेको छ । यसमा कोभिड थपिएको छ । त्यसको बाबजुद पनि हामीले काम गर्दै जानु पर्ने अवस्था रहेको छ । त्यसैले कोभिड १९ को समस्या कति लामो र कति समयसम्म पर्छ भनेर हामी अनुमान गर्दै अगाडि बढेका छौं । तर पनि स्वास्थ जस्तो गम्भिर विषयमा जोखिम उठाउन सकिदैन । अहिले यो कति लामो समयसम्म चल्छ भन्ने विषय अनुमान गर्न नसकिने भएकाले सर्भिस, स्पेयर पार्टस जस्ता क्षेत्रमा हामी केन्द्रित भएका छौं । बिक्री नेटवर्क विस्तारको मामलामा हामी अन्य कम्पनी जस्तो आक्रमक छैनौ । धेरै डिलर नेटवर्क हुँदैमा माग बढ्ने होइन । यद्यपी हामी देशका मुख्य सहरमा छौं ।

पछिल्लो दिनमा डिजिटल प्ल्याटर्फमबाट बुकिङ लिने, टेष्ट ड्राइभ बुक गर्ने, सर्भिस बुक गर्ने जस्ता सेवाहरु सुरु भएका छन् । टोयोटाले यस्ता विषयमा कस्तो योजना बनाएको छ ?

हामीले पनि घर घरमा लगेर टेष्ट ड्राइभ गर्दै आएका छौं । भर्चुयल शोरुम निर्माणमा हामीले काम गरिरहेका छौं । यसको लागि केही थप समय लाग्छ । हामीले काम गरेपछि कम्पनीको गाइड लाइन छाडेर काम गर्न सक्दैनौं । यद्यपी भविष्यमा हामी डिजिटल प्ल्याटर्फममा काम गर्छौ ।

हाइब्रिड र इलेक्ट्रीक कार नेपाल ल्याउन तपाईहरुले कसरी काम गर्दै हुनुहुन्छ ?

हामीले हाइब्रिड कार नेपाल ल्याएको धेरै वर्ष भयो । गतवर्षको बजेटले हाइब्रिड कारमा भन्सार र अन्तःशुलकमा केही छुट दिएपछि हामीले गाडी मगाएका थियौं । तर, ती गाडी नेपाल आइपुगेको केही दिनमा नै सरकारले दिएको छुट फिर्ता लियो । यसपाली पनि इलेक्ट्रीक कार आयात गर्ने कम्पनीले ठूलो संख्यामा इलेक्ट्रीक कार मगाए । तर, यसवर्षको बजेटले गाडीको मूल्य दोब्बर हुनेगरि कर लगायो । यसरी नीतिगत निर्णयमा स्थिरता नहुँदा गाडी मगाउने जोखिम लिन नसकिने अवस्था सृजना भएको छ ।

नीति निर्माताले यसको असरबारे बुझ्ने कोशिष पनि गरेका छैनन् । यस्तोमा नयाँ टेक्नोलोजी भएका साधन ल्याउन कठिन हुन्छ । तर पनि हामीसँग अहिले हाइब्रिड कार भने छन् । विद्युतीय कार त टोयोटाको अझै केही वर्ष नेपाल आउने छैन । विश्वका कुनैपनि देशमा अनुदान बिना इलेक्ट्रीक कार बिक्री भएका छैनन् । यस्तोमा नेपाल सरकारले लगाएको नयाँ करले इलेक्ट्रीक गाडी बिक्री हुने संभावना समाप्त भएको छ ।

डिलर नेटवर्क र सर्भिस स्टेशन वृद्धिको प्लान कस्तो गर्नु भएको छ ?

हामी नेटवर्क थप गर्दै लाने योजनामा छौं । हामीले नन् जेन्युयन पार्टसको प्रयोगलाई निरुत्साहीत गरिरहेका छौं । त्यसैले जेन्यूयन पार्टस बिक्री गर्न आफ्नै आउटलेटहरु खोलिरहेका छौं । सर्भिस सेन्टरहरु थप गर्ने योजना पनि बनाएका छौं ।

विश्वका कुनैपनि देशमा अनुदान बिना इलेक्ट्रीक कार बिक्री भएका छैनन् । यस्तोमा नेपाल सरकारले लगाएको नयाँ करले इलेक्ट्रीक गाडी बिक्री हुने संभावना समाप्त भएको छ ।

जापनी ब्रान्ड लेक्ससको बिक्री पनि गर्दै आउनु भएको छ । यसलाई कसरी अगाडि लाने योजना बनाउनु भएको छ ?

लेक्ससलाई अहिलेपनि हामीले हल्ला खल्ला गरेका छैनौ । यो पूर्णत कष्टुमाइज भएर आउने गाडी हो । यसको सबै फिचरहरु ग्राहकको रोजाई अनुसार ल्याउने गरिन्छ । त्यसैले यसलाई हामीले ल्याएर बिक्रीको लागि राख्नु भन्दा ग्राहकको अडर्र अनुसार ल्याउन उचित ठानेका छौं ।

नयाँ मोडलहरु आउँदै छन् । टोयोटा कोरोला नेपालमा परिचित मोडल हो । अब यसको क्रस आउँदै छ । यसले कस्तो व्यापार गर्ने अपेक्षा गर्नुभएको छ ?

नेपालमा कार भनेपछि कोरोला धेरैले चिनेका हुन् । र, अहिले पनि कोरोलाको ब्राण्ड नेम निकै बलियो छ । नेपालमा टोयोटाको गाडी चढ्नेले घाटा खाएर बिक्री गर्नु पर्ने अवस्था छैन । ५ वर्ष चढेपछि पनि ग्राहकले आफुले किनेको मूल्य पाउने अवस्था बजारमा छ । यस्तोमा कोरोला क्रसले विश्व बजारमा निकै राम्रो प्रतिक्रिया पाएको छ । यसले नेपालमा पनि पक्कै राम्रो व्यापार गर्ने अपेक्षा राखेका छौं ।

हायसले पब्लिक ट्रान्सपोर्टको रुपमा नयाँ बेन्चमार्क स्थापना गरेको छ । अहिले बजारमा अन्य प्रतिस्पर्धी ब्राण्डले पनि त्यही साइजका गाडी ल्याएका छन् । यसको बिक्री अहिले कस्तो छ ?

हायसको प्रतिस्पर्धामा अन्य मोडलको हुनै सक्दैन । यस्तो डिजाइन, सुरक्षा, आरामदायी गाडी अर्को नेपालमा छैन । चालकको लापरवाहीले दुर्घटना हुने गरेको विषयमा हामीले के गर्न सक्छौं । अन्यथा यसको सुरक्षा फिचरसँग प्रतिस्पर्धा गर्ने गाडी नै अन्य ब्राण्डले नेपाल ल्याएका छैन । सरकारले नयाँ रुटहरु खोल्ने हो भने हायसको बिक्री अझै बढ्छ ।

तपाईहरुले बिक्री गर्दै आउनु भएको सबै गाडीको सुरुवाति मूल्य नै ८० लाख रुपैयाँ छ । यस्तोमा कम पैसामा टोयोटा चढ्न खोज्नेलाई विकल्प कसरी दिनु हुन्छ ?

हामीले भारतमा बनेका उत्पादन नेपाल ल्याएका थियौं । इटियोस फ्याम्लीका कार केही कम मूल्यका थिए । तर, नयाँ प्रदुषण मापदण्ड अनुसार कम्पनीले गाडीलाई अपग्रेड गरेको छैन । भोलिका दिनमा सुजुकीसँगको सहकार्यमा टोयोटाका कम मूल्यका गाडी नेपाल आउने सम्भावना रहेको छ । त्यसका लागि कम्तीमा दुई वर्ष कुर्नु पर्ने हुन्छ ।


Back_to_top