यामाहाले थप्यो एफजेड सिरिजमा नयाँ मोडल

काठमाडौं । यामाहाले एफजेड २५ लाई बीएस ६ मापदण्ड अनुसारको इन्जिनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । भारत र नेपालमा कोरोना भाइरसको कारण लकडाउन चलिरहेको छ । यही समयमा कम्पनीले शोसल मिडियाको मध्यमबाट एफजेड २५ बीएस ६ मा अपग्रेड हुन लागेको जानकारी दिएको हो ।

केही दिनअघि यामाहाले आफ्ना सबै मोडलको अपग्रेड गर्ने कार्यक्रम पुरा भएको जनाएको थियो । त्यसमा एफजेडलाई अपग्रेडको सूचीमा राखिएको थिएन ।

अहिले यामाहाले एफजेडको अपग्रेड होइन न्यू जेनेरेशन मोडल बजारमा ल्याउन लागेको अनुमान गरिएको छ । साथमा कम्पनीले ‘एफजेडएस २५’ नयाँ मोडल पनि बजारमा आउने जनाएको छ ।

यामाहाले एफजेड २५ को डिजाइन पहिलाभन्दा सार्प बनाएको छ । यसमा एलइडी डिएलआर सहितको वाई फङ्गसनल एलइडी हेडलाइट दिएको छ । नयाँ मोडल पुरानो भन्दा निकै आकर्षक रहेको छ । यसमा कम्पनीले इन्जिन कौल र मल्टी फङ्गसन नेगेटिभ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर दिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै यसमा साइड स्ट्याण्ड कट अफ स्वीच दिएको छ भने डवल च्यानल एबीएस दिइएको छ । यसलाई कम्पनीले दुई कलर भेरियन्टमा बजारमा ल्याउने छ । जसमा मेट्यालिक व्ल्याक र रेसिङ व्ल्यू रहने छ ।

त्यसैगरि यामाहाले नयाँ ल्याउने एफजेडएस २५ मा अधिकांस फिचर एफजेड २५ बाट लिइएको छ । यसमा नकल गार्डको प्रयोग गरिएको छ भने तुलनात्मक रुपमा एफजेड २५ भन्दा लामो रहने छ । यसलाई तीन कलर अप्सनमा ल्याउने कम्पनीले जनाएको छ । जसमा डार्क क्लेको साथ गोल्ड कलर अलोय ह्वील, डार्क व्ल्यूको साथ गोल्ड कलर अलोय ह्वील र मेटालिक ह्वाइटको साथ व्ल्याक कलर अलोय ह्वील रहने छ ।

कम्पनीले यी दुबै मोडलमा समान इन्जिन दिएको छ । यसमा कम्पनीले २४९ सीसी सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिएको छ । यसमा प्रयोग भएको एफआई इन्जिनले अधिकतम ८००० आरपीएममा २०.८ पीएस पावर र ६००० आरपीएममा २०.१ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

यो मोटरसाइकलले बजारमा सुजुकी जिक्सर २५० र बजाज डोमिनार २५० सँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top