रेट्रो डिजाइन पारखीलाई १५० सीसीको नयाँ मोटरसाइकल, चाँडै आउन सक्छ नेपाल

काठमाडौं । यामाहा नेपालमा धेरै वर्षदेखि सर्वाधिक वृद्धि भेट्टाउन सफल कम्पनी हो । उसोत यामाहाको आरएक्स १००, वाइबीएक्स जस्ता मोडलले नेपाली बजारमा यसको लोकप्रियतालाई यसअघि नै प्रमाणित गरिसकेको थियो ।

अहिले एफजेड सिरिज यामाहाको सबैभन्दा बलियो मोडल हुन् । स्कुटरमा पनि फसिनो र रे जेडआरको बजार हिस्सा राम्रो रहेको छ । अहिले टीभीएस र यामाहाको बीचमा निकै कडा प्रतिस्पर्धा देखिएको छ । यस्तोमा कम्पनीले रेट्रो क्रुजर डिजाइनमा नयाँ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ ।

भारतका विभिन्न क्षेत्रमा यसको टेलिभिजन विज्ञापन सुटिङको क्रममा यसलाई मिडियाका क्यामेराले कैद गरेका थिए । यामाहाको क्रुजर डिजाइन इन्टाइसरपछि कम्पनीले अर्को मोटरसाइकल बजारमा ल्याएको थिएन । यस्तोमा नयाँ एफजेड एक्स नेपाली बजारमा यामाहाको बहुप्रतिक्षित मोडल हुन सक्ने देखिएको छ ।

एफजेडएस भि थ्रीमा रहेको इन्जिन नै एफजेड एक्समा रहने छ । अहिले एफजेडएस भी थ्री ३ लाख २९ हजार ९०० मूल्य निर्धारण भएर नेपालमा विक्री वितरण भइरहेको छ । यस्तोमा एफजेड–एक्सको मूल्य ३ लाख ५० हजारदेखि ३ लाख ६० हजारको बीचमा नै रहने अनुमान गर्न सकिन्छ ।

स्टाइलिस डिजाइन

सुटिङको क्रममा देखिएको रेट्रो स्टाइल एफजेड एक्समा थुप्रै मोर्डन फिचर रहेको अनुमान गर्न सकिन्छ । सार्प फिनिसिङ, गोलो एलइडी हेडल्याम्प, टियरड्रप सेप्पडमा देखिएको इन्धन ट्याङ्क, सिंगल पीस सिट, वल्ड–स्कुल ट्यूवलर पिलियन ग्रावरेल, सिंगल पिस ह्याण्डलवार, अल्ली अगाडि दिइएको फुटपेग जस्ता फिचर चालकको लागि निकै आकर्षक र आरामदायी रहने छन् ।

साइज

यसको टाइप अप्रुभल सर्टिफिकेट पनि सार्वजनिक भएकाले मोटरसाइकलको साइज पनि बाहिर आएको छ । यसको लम्बाई २०२० एमएम, चौडाई ७८५ एमएम, उचाई १११५ एमएम रहेको छ भने १३३० एमएमको ह्वीलवेस दिइएको छ ।

एफजेडएस भि थ्रीको तुलनामा यो मोटरसाइकल लम्बाई, चौडाई, उचाई र ह्वीलवेसको आधारमा केही ठूलो रहेको छ ।

इन्जिन

एफजेडएस भि थ्रीकै समान १४९ सीसी क्षमताको एफआई इन्जिन यसमा रहने छ । उक्त इन्जिनले अधिकतम ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३ एनएम टर्क प्रदान गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स रहने छ ।

अन्य फिचर

एफजेड एक्सको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन, अलोय ह्वील, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिन्छ ।

सार्वजनिक हुने मिति

यामाहाले यसको टिभीसी समेत निर्माण गरिसकेकोले जुन २०२१ सम्ममा यसलाई बजारमा ल्याउने अनुमान गरिएको छ । तर, बढ्दो कोभिड संक्रमणको कारण भारतमा प्लान्ट नै बन्द अवस्थामा रहेकाले ढिलोमा अगस्टसम्ममा बजारमा आउने अनुमान गर्न सकिन्छ । भारतमा सार्वजनिक भएको तीन चार महिनापछि मात्रै नेपाल आउने हुँदा सन् २०२१ को अन्तिमसम्ममा यो मोटरसाइकल नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top