यात्री पी १ नयाँ जेनेरेशन तयार, नाडाबाट सुरू होला बिक्री ?

काठमाडौं । नेपाली अटोमोबाइल ब्राण्ड यात्रीले पी १ को नयाँ जेनेरेशन तयार पारेको छ । कम्पनीले यात्री पी-१ को सेकेण्ड जेनेरेशन (जी २) तयार गरेको हो ।

यात्री मोटरसाइकलमा सिप्रदी ट्रेडिङले लगानी गरेसँगै रिसर्च एण्ड डेभलपमेन्ट र संख्यात्मक रूपमा उत्पादनको कामले पनि तीव्रता पाएको हो ।

कम्पनी आफ्नो बजारमा रहेको पी-१ मोडलको नयाँ जेनेरेशनसँगै पहिलो स्कुटर पी-२ को उत्पादनमा पनि काम अगाडि बढाइ रहेको छ ।

यात्रीले आफ्नो सोसल मिडिया पेजमा तस्बिर सार्वजनिक गर्दै पी २ तयार भएको संकेत गरेको हो । उक्त पोष्टमा भनिएको छ, ‘सपना कहिले सजिलो हुनुको अर्थ थिएन, समयले परीक्षण गरेको र दुरीका लागि तयार पारिएको, जस्तो सुकै बाटोका लागि पनि लायक छ ।’

नयाँ देखिएको पी-१ जेन २ को ब्याट्री बक्समा नयाँ ग्राफिक्सको प्रयोग गरिएको छ भने जेन २ लेखिएको छ । अन्य टेक फिचर अपडेट हुने अनुमान गरिएको छ ।

कम्पनीले यात्री पी-१ को नयाँ जेनेरेशन मोडल आगामी अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनीका संस्थापक असिम पाण्डेले मेरोअटोलाई जानकारी दिए ।

‘हामीले विभिन्न अपडेटहरू गरेर यात्री पी-१ मोडलको सेकेण्ड जेनेरेसन तयार पारेका छौं । आगामी अटो शोबाट यसको बिक्री सुरू गर्ने योजना बनाएका छौं,’ ब्राण्डका इन्जिनियरिङ हेड समेत रहेका संस्थापक पाण्डेले भने ।

उनका अनुसार यात्री पी-१ चढिरहेका उपभोक्तासँग त्यसको ‘फिडब्याक’ लिएर नयाँ जेनेरेशन मोडलमा विभिन्न टेक्निकल परिमार्जनहरू गरिएको छ ।

‘अहिले बजारमा ८० युनिट यात्री मोटरसाइकल बजारमा गुडिरहेका छन् । ग्राहकहरूसँग प्रतिक्रिया लिएर हामीले नयाँ जेनेरेशनमा धेरै परिर्वतन गरेका छौं,’ उनले भने ।


Back_to_top