काठमाडौं । नेपालमै उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर यात्री पी २ को मूल्य सार्वजनिक भएको छ । उत्पादक कम्पनी सिप्रदी यात्रीले पी २ को सुरुआती (३ किलोवाट आवरको ब्याट्री) मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकेको हो ।
त्यस्तै, कम्पनीले ३.७ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको ३ लाख ९९ हजार ९०० रुपैयाँ र ५.२ किलोवाट आवर भेरियन्टको ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शोमा यात्री पी २ सार्वजनिक गर्दै बुकिङ खुलाएको थियो । कम्पनीका अनुसार नाडामा बुकिङ गरेका ग्राहकले ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर भेरियन्टको अक्टोबर मध्यदेखि नोभेम्बरसम्ममा डेलिभरी पाउने छन् । डिसेम्बरदेखि सबै भेरियन्ट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यात्री पी नेपालका विभिन्न सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर बनाइएको हो । यसको डिजाइन, रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन लगायत सम्पूर्ण काम नेपालमै भएको हो ।
पी २ स्कुटरमा १० किलोवाटको शक्तिशाली मोटर छ । नेपालमा उपलब्ध इलेक्ट्रीक स्कुटरहरूमध्ये सबैभन्दा ठूलो हो । यात्री पी २ ३ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर तीन ब्याट्री अप्सनमा उपलब्ध छ ।

यात्री पी २ को रेन्ज ब्याट्री साइज अनुसार फरक फरक छ । सबैभन्दा ठूलो ५.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा १५७ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी ३.७ किलोवाट आवर क्षमताको ब्याट्रीले ११२ किलोमिटर र ३ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । साथै, थप ५० किलोमिटर रेन्जका लागि १.८ किलोवाट आवरको ‘रेन्ज एक्सेन्डर’ ब्याट्री प्याक पनि जोड्न सकिनेछ । यो रेन्ज एक्सेन्डर प्रयोग गर्दा सबै भेरियन्टको रेन्ज ५० किलोमिटरे बढछ ।
यात्रीले पी २ मा स्कुटर सेग्मेन्टमै पहिलोपटक डीसी फास्ट चार्जर दिएको छ । ३.३ किलोवाटको फास्ट चार्जरबाट यो केबल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने कम्पनीको भनाइ छ ।
यो स्कुटर होम चार्जरबाट पनि निकै छिटो अर्थात् २ घण्टा ५० मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ । अरु स्कुटर फुलचार्ज गर्न सामान्यतया ४ देखि ७ घण्टासम्म लाग्छ ।
यात्री पी २ मा ७ इन्चको टीएफटी डिस्प्ले छ । जसले एन्ड्रोइड अटो र एप्पल कार प्ले पनि सपोर्ट गर्छ । रियल टाइम इनर्जी मिटर, स्मार्ट डिस्प्ले प्रयोग भएको स्कुटरको ब्याट्री म्यानेजमेन्ट सिस्टम भारतीय अटोमोटिभ रिसर्च एजेन्सी (एआएआई) बाट प्रमाणित रहेको छ ।
यात्री पी २ मा १३९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । ह्वीलबेस लामो हुँदा स्कुटर उच्च गतिमा गुड्दा वा खाल्डाखुल्डी भएको बाटोमा पनि बढी सन्तुलित र स्थिर रहन्छ। साथै, लेगरुम फराकिलो हुने भएकाले आरामादायी हुन्छ ।
यात्री पी २ मा १४ इन्चको अलोय ह्वील छ । यसको ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ । जुन नेपाल जस्तो भौगोलिक विविधता र कच्ची सडक भएको स्थानका लागि निकै उपयोगी हो ।
पी२ मा माउन्टेन होल्ड’, फल डिटेक्सन, स्मार्ट चार्जिङ मोड, मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ, रिजेनेरेटिभ ब्रेकिङ हिल होल्ड, क्रुज कन्ट्रोल, एन्टी थेफ्ट नोटिफिकेसन, मोटर लक लगायत फिचर उपलब्ध छन् ।
ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकता अनुसार ब्याट्री, चार्जिङ क्षमता, एप, रङ जस्ता सुविधाहरू कस्टमाइज गर्न पाउने कम्पनीले जनाएको छ । कम्पनीले पी २ को ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरको वारेन्टी दिएको छ ।

