काठमाडौं । त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडक निर्माणले अब गति लिने भएको छ । सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सो सडक निर्माणका लागि दार्चुलाको घाँटीबगर इलाका नजिकै क्याम्प खडा गरेसँगै निर्माणले गति लिने भएको हो ।
२०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन । महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला-तिंकर सडक निर्माण सुरु भएको १२ वर्ष भइसकेको छ । सो अवधिमा ४३ किलोमिटरका हाराहारीमा सडक निर्माण पूरा भएको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार यो सडक निर्माण आगामी आर्थिक वर्षदेखि नेपाल सेनाले गर्ने छ । सो सडक खण्ड १३० किलोमिटर लम्बाईको रहेको छ । सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउने निर्णय भएको छ भने बाँकी ८७ किलोमिटर सडक नेपाल सेनाले बनाउने निर्माण भएको हो । हाल सडक विभागले सो खण्डमा काम गरिरहेको छ ।
यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने छ ।
नेपाल सेनाको टोलीले सो स्थानहरुमा क्याम्प बनाउन सुरु गरेको महानिर्देशक शर्माले बताए । ‘आगामी चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम गरिने छ, अहिले सो खण्डको बाँकी निर्माण सेनालाई सुम्पिने निर्णय भएको छ, सेनाले निर्माण स्थानमा क्याम्प राख्न थालिसकेको छ,’ उनले चाणक्य पोष्टसँग भने ।
उनले आगामी आर्थिक वर्षको बजेटमा समेत सो सडक खण्ड निर्माणलाई प्राथमिकतामा राखिएको बताए । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखडसँगको सीमाना नजिकै रहेको छ । तर हाल बनिरहेको सडक कुनै पनि भारतीय सीमा भित्र नपरेको उनको दाबी छ ।
सो सडक निर्माण सम्पन्न गर्न २ वर्ष लाग्न सक्ने अनुमान गरिएको छ । हाल उक्त सडक खण्डमा पैदल हिँड्न मिल्ने गोरेटो बाटो मात्र बन्दै गरेको छ । सेनाले हाल क्याम्प राखेर वाल, नाली बनाउने काम गर्ने छ ।
यस्तै नेपाल सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो खण्डमा सेना आफै प्रत्यक्ष पुगेर प्लान बनाउने काम सुरु भएको बताए । हालसम्म नीतिगत रुपमा निणर्य भए पनि डीपीआर नआएका कारण धेरै काम अघि बढ्न नसकेको उनले बताए ।
उनका अनुसार हाल गोरेटो र घोरेटो बाटो निर्माणको काम सुरु भएको छ । चालू आर्थिक वर्षको मसान्तसम्ममा सडक विभागले सो स्थानमा आफ्नो काम सक्ने छ । त्यसबाट उक्ता सेनाले आगामी चालू आर्थिक वर्षबाट बजेट आएसँगै सेनाले आफ्नो काम सुरु गर्ने छ ।
सो स्थानमा २०६५ मा दार्चुला सदरमुकाम खलंगादेखि एक दशकभित्रै तिंकर नाकासम्म सडक पुर्याउने लक्ष्य लिइएको थियो । २०६४ मा सर्भे गरिएको १३० किलोमिटर लामो उक्त आयोजनाको निर्माणकार्य सुरु भएको १२ वर्ष भइसकेको छ । २०७५ मा सो सडक खण्डको निर्माण पूरा गर्न ३ वर्षका लागि म्याद थप गरिएको थियो ।
महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला(तिंकर सडक लामो समयदेखि विभिन्न कारण देखाउदै सम्पन्न हुन सकेको छैन । आगामी बजेटसँगै सो सडक निर्माणको कुरा टुंगो लाग्ने प्रवक्ता पाण्डेले बताए ।
आर्थिक वर्ष २०६५/६६ बाट दार्चुला-तिंकर सडकको रुपमा नामाकरण गरी सो सडक निर्माण सुरु भएको थियो । पछिगएर त्यही सडकलाई महाकाली करिडोर नामाकरण गरिएको थियो । महाकाली करिडोर अन्तर्गत सुदूरपश्चिमका चार जिल्ला कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा, बैतडी हुँदै दार्चुला जोडिँदैछ ।
यो सडक मार्ग हुँदै नाका खोले नेपाल भारत र चीनसँगको व्यापारमा सहज हुने छ । दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज बाटो हुने छ ।

