काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३ अर्ब ७१ करोड १४ लाख १७ हजार रुपैयाँ बराबरको टायर, ट्यूव तथा रबरजन्य वस्तुहरू आयात भएको छ । सो अवधिमा कुल १ करोड ४८ लाख ५३ हजार ५ सय १३ पिस टायर, ट्यूव तथा रबरजन्य वस्तुहरू आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
गतवर्षको तुलनामा यो वर्षको ५ महिनामा १ अर्ब २८ करोड ८४ हजार रुपैयाँ बढी मूल्यको टायर, ट्यूव तथा रबरजन्य वस्तु आयात भएको हो ।
नाडा अटोमोवाई एशोसिएसन अफ नेपालका कोषाध्यक्ष तथा श्री एसटीसीका प्रबन्धक निर्देशक सुरेन्द्रकुमार उप्रेतीले यो वर्ष १० अर्ब रुपैयाँ बराबरको टायर, ट्यूव तथा रबरजन्य वस्तुहरू आयात हुने अनुमान गरिएको जानकारी दिए ।
‘गाडीको आयात बढ्दो छ, त्यसैअनुसार टायर ट्यूवको आयात बढ्ने हो । यो वर्ष १० अर्ब रुपैयाँ बराबरको टायर, ट्यूव तथा रबरजन्य वस्तुहरू आयात हुने देखिनु स्वभाविक हो,’ उप्रेतिले मेरोअटोसँग भने ।
आर्थिक वर्ष २०७४–०७५ को पहिलो ५ महिनामा २ अर्ब ४३ करोड १३ लाख ३३ हजार रुपैयाँ बराबरको टायर, ट्यूव तथा रबरजन्य वस्तुको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । उक्त अवधिमा १६ लाख ८२ हजार ९ सय ६६ पिस यस्ता वस्तु आयात भएका थिए ।
गतवर्ष कुल २६ करोड ९ लाख १६ हजार ७ सय ३६ पिस सामान आयातको लागि ७ अर्ब ९९ करोड ९४ लाख ९१ हजार रुपैयाँ खर्च भएको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३–०७४ मा कुल ६ अर्ब ३६ करोड ७२ लाख ४५ हजार रुपैयाँ बराबरको टायर, ट्यूव तथा रबरजन्य वस्तुहरू आयात भएका थिए । सो अवधिमा ५ करोड ५५ लाख ७९ हजार ६३ पिस रबरजन्य वस्तु आयात भएको थियो ।

