काठमाडौं । नयाँ इमिशन मापदन्ड अनुरुप परिमार्जन भएको होन्डाको एक्टिभा स्कुटर आज भारतीय बजारमा सार्वजनिक हुने भएको छ । भारतमा ६ महिनापछि लागु हुने नयाँ प्रदुषण मापदन्ड (बीएस ६) अनुसार अपग्रेड भएको एक्टिभा फ्युल इजेक्शन प्रणाली सहित बजारमा आएको हो ।
कम्पनीले यसको भारतीय बजारमा सुरुवाति मूल्य ६७ हजार ४९० भारु तोकेको छ । तीन भेरियन्टमा बजारमा आएका एक्टीभामा १०९.१९ सीसी इन्जिनले ६५०० आरपीएममा ८.१ बीएच पावर उत्पादन गर्छ । यो इन्जिन होन्डा डियो र एभिएटरको नयाँ जेनेरेशनमा समेत प्रयोग गरिने कम्पनीले जनाएको छ ।
करिब २६ प्रतिशत नयाँ डिजाइन गरिएको एक्टीभाको नयाँ इन्जिनले पुरानो तुलनामा केही बढी माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । आइडिएल स्टार्ट–स्टप सिस्टमसहित आएको स्कुटरमा पुराना धेरै फिचरलाई अपग्रेड गरिएको छ ।
नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले पनि होन्डा एक्टिभा स्कुटरको बिक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा उपलब्ध पुरानो स्कुटरको मुल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । अब आउने नयाँ मोडलको मूल्य करिब १० रुपैयाँले बढी हुने अनुमान गर्न सकिन्छ ।


