महिन्द्रा र फार्डको आधिकारीक एलायन्स घोषणा भएको छ । हिजो अक्टोबर १ तारिकमा भारतको मुम्बाईमा आयोजना भएको एक कार्यक्रका बीच दुई कम्पनीले भारतीय बजारमा मिलेर काम गर्ने योजना सहित हस्ताक्षर गरेका छन् ।
दुबै कम्पनीले मिलेर नयाँ विकास, बजारिकरण र गाडी उत्पादन गर्ने जनाएका छन् । यी दुबै कम्पनीको संयूक्त गाडी २०२० को मध्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ ।
फोर्डका अध्यक्ष विल फोर्डले भिडियो कन्फ्रेन्सबाट मुम्बाईको पत्रकार सम्मेलनमा सहभागि भएका मिडियाकर्मीलाई सम्बोधन गर्दै महिन्द्रा र फोर्डको एलायन्सले भारतीय बजारमा दुबै कम्पनीलाई फाइदा पुग्ने उल्लेख गरेका थिए । उनले फोर्डले निरन्तर भारतमा भारतको लागि गाडी बनाउने समेत बताए ।
महिन्द्रा र फोर्डको जोइन भेन्चर १९२५ करोड भारतीय रुपैयाँको रहेको छ । उक्त भेन्जरको उत्पादन बजारमा आएपछि त्यसले क्रमिक रुपमा बजार हिस्सा बढाएर १४ प्रतिशत पुर्याउने अपेक्षा दुबै कम्पनीले गरेका छन् । यी दुबै कम्पनी मिलेर भारतीय बजारमा १२ लाख प्यासेन्जर कार उत्पादन गर्ने क्षमता राख्छन् ।
यो नयाँ भेन्चरमा ५१ प्रतिशत सेयर महिन्द्राले लिएको छ भने, फोर्डसँग ४९ प्रतिशत सेयर रहेको छ । अब यो भेन्चरको नेतृत्व महिन्द्राले गर्ने सहमति भएको छ ।
सम्झौतापछि महिन्द्रा एण्ड महिन्द्राका चेयरम्यान पवन गोइन्का र फोर्ड इन्डियाका एमडी अनुराग मलहोत्राले भने ‘बजारमा दुबै कम्पनीको अस्तित्व समान रहने छ । दुबै कम्पनीले आ–आफ्नो ब्राण्डमा गाडी बिक्री गर्नुका साथै दुबैका नेटवर्क संचालनमा रहने छन् । यसले दुबै कम्पनीलाई लामो समयसम्म फायदा पुग्ने छ ।’
नयाँ भेन्चर कम्पनीले ७ नयाँ मोडल उत्पादन गर्ने लक्ष्य बनाएको छ । फोर्डको सी एसयूभी, महिन्द्राको नयाँ जेनेरेसन एक्सयूभी ५०० र फोर्डले बनाउने घोषणा गरेको दुई नयाँ एसयूभी, महिन्द्राका केही इलेक्ट्रीक मोडल यहीबाट उत्पादन हुनेछ ।
यी दुई कम्पनीले उत्पादन गरेका गाडी भारतको अलावा अष्ट्रेलिया, अफ्रिका, रसिया, असियान र मिडल इष्टमा समेत बिक्री गर्ने लक्ष्य लिएको छ ।


