काठमाडौं । कुनै समय थियो, स्कुटर भन्नेबित्तिकै महिलाले चढ्ने सवारी भनिन्थ्यो । तर, अहिले परिस्थिति बदलिएको छ । स्कुटरलाई ‘युनिसेक्स’ सवारीकारुपमा लिइन्छ । कम्पनीहरूले पनि त्यहीअनुसार स्टाइलिस डिजाइनमा स्कुटर उत्पादन गर्दैआएका छन् ।
भारतीय बजारमा पनि स्कुटर चढ्ने पुरुषको संख्या अत्यधिकरुपमा बढिरहेको छ । नेपालमा पनि केही वर्षयता स्कुटरको बिक्री उल्लेख्यरुपमा बढ्नेको कारण पुरुषहरूले पनि सहरी सवारीकारुपमा स्कुटर रोज्नुलाई लिइएको छ ।
यहाँ नेपाली बजारमा पुरुषहरूका लागि अति उपयोगी स्कुटरकाबारेमा चर्चा गरिएको छ ।
अप्रिलिया एसआर–१५०

अप्रिलिया इटालियन ब्रान्डको स्कुटर हो, जुन उपयुक्त मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको छ । यो स्कुटर निक्कै शक्तिशाली र आकर्षक डिजाइनमा निर्माण गरिएको छ । यो स्कुटर २०१७ मा नेपाली बजारमा सार्वजनिक गरिएको थियो । अप्रिलिया एसआर–१५० विशेषगरी युवापुस्तालाई लक्षित गरी उत्पादन गरिएको हो । एसआर–१५० कै इञ्जिन प्रयोग गरी भेस्पा–१५० समेत बजारमा उपलब्ध रहेको छ । १ सय ५५ सीसी क्षमताको इञ्जिन प्रयोग गरिएको यो स्कुटरले १०.२ बीएचपी र ११.४ एनएम टर्क दिन्छ । अप्रिलिया एसआर–१५०को नेपाली बजारमा मूल्य २ लाख ५४ हजार ९००रुपैयाँ तोकिएको छ ।
होन्डा एभीएटर

होन्डा एभीएटर होन्डाको प्रिमियम स्कुटर हो । आकर्षक डिजाइन र शक्तिशाली इञ्जिनका कारण यो स्कुटर उत्कृष्ट मध्येमा पर्र्छ । सिङ्गल सिलिन्डर एयर कुल्ड १०९.१९ सीसी इञ्जिन क्षमता भएको एभीएटरले ८ बीएचपी र ८.७७ एनएम टर्क दिन्छ । एभीएटर नेपाली बजारमा लोकप्रिय स्कुटरको रुपमा रहेको छ । यसको नेपाली बजारमा मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।
यामाहा सिग्नस–रे जेडआर

यामाहाको सिग्नस–रे जेडआर स्कुटर भारतीय बजारमा युवापुस्तामा निकै पपुलर रहेको छ । बिभन्न रंगसहित आकर्षक डिजाइनको स्कुटर रोज्नेका लागि लक्षित गरेको बनाइएको हो । रे जेडको मोडल भने नेपाली बजारमा समेत उपलब्ध रहेको छ । रे जेडआरमा सिंगल सिलिन्डर ११३ सीसी क्षमताको इञ्जिन छ, जसले ७ बीएचपी र ८ एनएम टर्क दिन्छ । नेपाली बजारमा यसको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । यो स्कुटरले ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ । पिछल्लाे समय यामाहाकाे फेसिनाे स्कुटर नेपाली बजारमा निकै चर्चित हुँदै गएकाे छ ।
होन्डा डियो

होन्डा डियो पनि युवालक्षित उत्पादन नै हो । डियो सार्वजनिक भएयता धेरै परिमार्जित भएर आइसकेको छ । डियोमा सिंगल सिलिन्डर १०९ सीसी क्षमताको इञ्जिन छ, जसले ६ बीएचपी र ८ एनएम टर्क दिन्छ । यो स्कुटरले पनि ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने होन्डाले जनाएको छ । यो स्कुरटको मूल्य बजारमा १ लाख ८२ हजार ९०० रुपैयाँ रहेको छ ।
होन्डा एक्टीभा १२५

भारतमा सबैभन्दा धेरै बिक्री हुने दुईपाङ्ग्रे सेगमेन्टमा होन्डा एक्टीभा रहेको छ । यो स्कुटर आकर्षक र शक्तिशाी रहेको छ । पछिल्लो समय यो स्कुटर निक्कै परिमार्जित भएर आएको छ । होन्डा एक्टीभा १२५ १ सय १४ सीसी इञ्जिन क्षमताको रहेको छ जसले ८.५ बीएचपी र १०.५ एनएम टर्क दिन्छ । यसले प्रतिलिटर ५४ किलोमिटर माइलेज दिन्छ । एक्टीभा नेपाली बजारमा भने खासै त्यति धेरै बिक्री भएको देखिदैन । यसको बजार मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको छ ।
टीभीएस जुपिटर

जुपिटर टीभीसको वेस्ट सेलिङ मोडलको रुपमा रहेको छ । जुपिटर टीभीएसको अर्को स्कुटर वेगो–र्क प्लेटफर्ममा उत्पादन गरिएको हो । सिंगल सिलिन्डरसहित १०९ सीसी इञ्जिन क्षमताको जुपिटरले ८ बीएचपी र ८ एनएम टर्क दिन्छ । ५६ किलोमिटर प्रतिलिटर माइलेज भएको यसको नेपाली बजार मूल्य १ लाख ७३ हजार ९०० रुपैयाँ रहेको छ ।
महिन्द्रा गस्टो–१२५

महिन्द्रा गस्टो–१२५ कम्पनीको गस्टो भेरियन्टको सबैभन्दा शक्तिशाली मोडल हो । गस्टो भिन्न डिजाइनमा उत्पादन गरिएको स्कुटर हो । जुन यसअघि दक्षिण एसियाली बजारमा यस्तो डिजाइनमा देखिएको थिएन । गस्टो–१२५ मा १ सय २४.६ सीसीको इञ्जिन रहेको छ, जसले ८.५ बीएचपी र १० एनएम टर्क दिन्छ । गस्टो १२५ ले ५० किलोमिटर माइलेज प्रतिलिटरले दिन्छ भने गस्टोको नेपाली बजारमा मूल्य १ लाख ८७ हजार ९०० रुपैयाँ रहेको छ ।


