चीनले बनायो जल र जमिन दुबै ठाँउबाट उडान र अवतरण गर्ने जहाज

काठमाडौं । चीनले विश्वकै ठूलो उभयचर विमान (जल र थल दुवैमा अवतरण र उडान भर्ने) आगामी २०२२ मा उपभोक्तालाई आपूर्ति गर्ने अपेक्षा गरेको छ । चीनमा नै विकास गरिएको यो विमान उक्त समयमा उपभोक्तालाई आपूर्ति गरिने तय भएको हो । 

‘हामीले नागरिक उड्डयन निकायबाट २०२१ मा यो विमानको प्रमाणीकरण पाउने अपेक्षा गरेका छौँ र यो विमान २०२२ मा आपूर्ति हुने अपेक्षा पनि गरेका छौँ,’ राज्य स्वामित्वको उड्डयन उद्योग कर्पोरेसन अफ चाइना (एभीआईसी) मा विमानका प्रमुख ढाँचाकार हुवाङ लिङकाईलाई उद्धृत गर्दै सिन्ह्वा समाचारले जनाएको छ ।

चीनले आफ्नो सेनालाई आधुनिकीकरण गर्ने उद्देश्यकासाथ यो एजी–६०० विमानको विकास गरेको हो । साउथ चाइना सीको विषयलाई अमेरिकासँग बढेको विवादका कारण चीनले यस किसिमको विमानको विकास गर्न लागेको हो ।

यो विमानको पहिलो उडान चीनमा डिसेम्बरमा गरिएको थियो । यो वर्ष विमानले थप उडान गर्ने हुवाङले बताए । यसमा पानीबाटै पहिलो उडान भर्नेलगायतका गतिविधि पनि समावेश हुनेछ ।

एभीआईसीले यो विमानको विकासका लागि ८ वर्षको समय खर्चिसकेको छ । यो विमानको आकार सालाखाला बोइङ–७३७ को जत्रै छ । यो विमानलाई सामुन्द्रिक उद्दार र जंगलको आगलागि निभाउनका लागि हुने किसिमबाट तयार पारिएको छ । यसको उडान दूरी ४ हजार ५ सय किलोमिटर रहेको छ भने दुई मिटरको छालमा उडान र अवतरण गर्न सक्ने गरी ढाँचा तयार पारिएको छ ।

चार टर्बोप्रोप इञ्जिनबाट ऊर्जा लिने यो एजी–६०० विमानले सामुद्रिक खोजी र उद्दार कार्यको समयमा ५० मानिसलाई बोक्नसक्छ ।

डिसेम्बरमा राज्य स्वामित्वका मिडियाहरूले यो विमानले चिनियाँ सरकारका विभाग र चिनियाँ कम्पनीहरूले १७ वटा अर्डर पाइसकेको समाचार सम्प्रेषण गरेका थिए ।


Back_to_top