काठमाडौं । पानीबाट गाडी चलाउने प्रयास विश्वभर भइरहेको छ । यसमा बिभिन्न किसिमका अनुषन्धान र विकासमा लाखौ युवा बैज्ञानिकहरुले समय खर्च गरिरहेका छन् । यस्तोमा नेपाली युवा इन्जिनियर सुजन जिसीले नयाँ डिभाइस निर्माण गरेका छन् ।
उनले अविष्कार गरेको डिभाइसको प्रयोगपछि पेट्रोलियम पदार्थमा पानी मिश्रणबाट गाडी चलाउन सकिने दाबी जिसीले गरेका छन् । ‘सक्स डिभाइस’ नाम दिइएको उक्त डिभाईसको प्रयोगले पानीको मिश्रणबाट गाडी चलाउन सकिने जनाइएको छ ।
‘गाडीमा डिभाइस हालिसकेपछि ४० प्रतिशत पानी र ६० प्रतिशत डिजेल/पेट्रोलको प्रयोग गरेर गाडी चल्ने छ’, युवा इन्जिनियर सुजन जीसीले मेरोअटोसँग भने ।
यस डिभाइस प्रयोगबाट गाडीको २० देखि ४० प्रतिशतसम्म माइलेज समेत बढने उनले दाबी गरे । गाडीको पिकअप बढने, इन्जिनले उच्च पावर प्रदान गर्ने, यदि ट्रक हो भने इन्जिनमा जम्माभएर बसेको कार्वनहरुलाई समेत बाहिर निकाल्ने छ ।

इन्जिनियर जीसीका अनुसार यो डिभाइसको प्रयोगपछि गाडीको आयु बढाउनुका साथै आवाज पनि कम गर्छ । यो डिभाइस इन्जिन भएका सम्पुर्ण सवारी साधनमा प्रयोग गर्न सकिने छ । गाडीको सीसी अनुसार भने फरक फरक खालको डिभाइस प्रयोग हुनेछ ।
पेट्रोल/डिजेलमा लाग्ने पैसाको रकम बचत हुन सक्छ भने गाडीबाट निस्किने हानिकारक ग्यासलाई ६० प्रतिशतले घटाउने उनले दाबी गरेका छन् । सक्स डिभाइसको मूल्य गाडीमा प्रयोग गर्दा ५० हजार र मोटरसाइकलमा प्रयोग गर्दा १५ हजार तोकिएको छ ।
डिभाइसमा दुई वर्षको ग्यारेन्टि दिइएको छ । यदि आफुहरुले भनेको ठाँउमा इन्जिनको सर्भिस गराउने हो भने इन्जिनको समेत ग्यारेन्टी लिन सक्ने उनको दाबी छ ।
गाडीमा प्रयोग गर्ने पानी पनि आफुहरुले नै उत्पादन गरेको बताउँदै ४.६ लिटर पानीको प्रयोगले १ हजार किलोमिटर भन्दा ज्यादा माइलेज दिने जिसीले दाबी गरे । यो पानीमा विशेष किसिमको केमिकल प्रयोग गरी बनाइएको हुन्छ । उक्त पानीको प्रतिलिटर ३० रुपैयाँ पर्छ ।


