काठमाडाैं । भारतीय मिडिया जागरणको अनलाईन संकरणले आयोजना गर्ने ‘जागरण हाईटेक’ अवार्डमा सब कम्प्याट एसयूभी सेग्मेन्टमा हुन्डाई भेन्यूले अवार्ड जितेको हो ।
भेन्यूले यो सेग्मेन्टमा फार्ड इकोस्पोर्ट, महिन्द्रा एक्सयूभी ३००, टाटा नेक्सन र मारुती सुजुकी भिटारा ब्रेजालाई पछि पादै अवार्ड जितेको हो । यसमा रहेको हाइटेक फिचरकै कारण अवार्ड जित्न सफल भएको बताइएको छ ।
नेपाली बजारमा बिक्री भइरहेको भेन्यूको सुरुवाति मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने टप भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रहेको छ ।
भेन्यू तीन इन्जिन अप्सनमा रहेको छ । जसमा १.० लिटर टर्बो चार्ज्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर टर्बो कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पीड अटोमेटीक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।
भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
हुन्डाईका चर्चित गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडि आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरेको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।
३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ ।
इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । भेन्यू स्मार्ट कनेक्टेड गाडी हो । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर रहेका छन् ।

