रात्रिकालीन बसको टिकटबाट नधान्ने खर्च स्थानीय तहले व्यहोर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा संचालनमा ल्याइएको रात्रिकालीन बस सेवाको खर्च ९ स्थानीय तहहरूले व्यहोर्न भएका छन् । बसको टिकटबाट मात्रै खर्च धान्न नपुग्ने भए बाँकी रकम स्थानीयहरूले व्यहोर्ने सहमति भएको हो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरी नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले व्यहोर्ने भएका हुन् ।

गत वैशाख १ गतेबाट सुरू परीक्षणका रूपमा संचालन गरिएको रात्रिकालीन यातायात असोज ३ देखि उपत्यकाका ९ पालिका समेटेर ६ रुटमा विस्तार गरिएको छ ।

स्थानीय तहहरू बीच भएको सहमति अनुसार रात्रीकालीन बस संचालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित ९ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने छन् ।

बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्याका आधारमा काठमाडौं महानगरपालिकाले १८.५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८.५५ प्रतिशत र अरु सात नगरपालिकाले ९ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ । सेवा संचालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ ।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यले साझासँग सहकार्य गर्दै रात्रिकालीन बस सेवा संचालनमा ल्याइएको हो ।

शनिबारदेखि उपत्यकाका ६ वटा रुटका लागि ३० वटा बस संचालनमा आएका छन् । जसमा जगाती-सूर्यविनायक हुँदै ठमेलसम्म ६ वटा, साविक लगनखेल-बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म ६ वटा, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा ८ वटा, कीर्तिपुर-जमलमा ४ वटा, टाखेल-ठमेलमा २ वटा तथा साविक नागढुंगा-एयरपोर्ट रुटमा ४ वटा बस संचालन भएका छन् । यी बस राति ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछन् ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन् । ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा संचालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ । सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन् ।

निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ । चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन् ।


Back_to_top