सिंगापुर एयरलाइन्स बन्यो ‘विश्वकै उत्कृष्ट’, यी हुन शीर्ष १०

काठमाडौं । सिंगापुर एयरलाइन्स छैटौं पटक विश्वकै उत्कृष्ट एयरलाइन्स कम्पनी बनेको छ । सिंगापुर एयरलाइन्सले २०२६ को स्काईट्र्याक्स वल्र्ड एयरलाइन्स अवाड्र्समा विश्वको उत्कृष्ट एयरलाइन्सको उपाधि जितेको हो ।

सिंगापुरले विश्वका ३०० बढी एयरलाइन्स कम्पनीहरूलाई उछिन्दै विश्वकै उत्कृष्ट बनेको हो । यस अवार्डको २५ वर्षे इतिहासमा सिंगापुरले शीर्ष पुरस्कार जितेको यो छैटौंपटक थियो । सिंगापुरले यसअघि सन् २००४, २००७, २००८, २०१८ र २०२३ मा यो अवार्ड जितेको थियो ।

साथै, सिंगापुर एयरलाइन्सले ‘विश्वको उत्कृष्ट इकोनोमी क्लास’ र ‘विश्वको उत्कृष्ट इकोनोमी क्लास अनबोर्ड क्याटरिङ’ पुरस्कार पनि जितेको छ ।

गत वर्षको विजेता कतार एयरवेज भने दोस्रो स्थानमा झरेको छ । त्यसैगरी, क्याथे प्यासिफिक एयरवेज, जापानको एएनए अल निप्पोन एयरवेज, टर्किस एयरलाइन्स, इमिरेट्स, एयर फ्रान्स, हेनान एयरलाइन्स, जापान एयरलाइन्स र कोरियन एयर क्रमशः विश्वका १० उत्कृष्ट एयरलाइन्स बनेका छन् ।

मलेसिया एयरलाइन्सले एशियाको उत्कृष्ट एयरलाइन स्टाफ सेवाको पुरस्कार जित्यो र विश्वको उत्कृष्ट क्याबिन क्रू विधामा तेस्रो स्थान हासिल गर्यो।

एयर एशियाले सन् २०१० देखि हरेक वर्ष जित्दै आएको विश्वको उत्कृष्ट कम लागतको एयरलाइन्सको उपाधि कायम राखेको छ।

स्काईट्र्याक्सका मुख्य कार्यकारी अधिकृत एडवर्ड प्लेस्टेडले यो सफलताहरू सिंगापुर एयरलाइन्सका व्यवस्थापक र कर्मचारीहरूका लागि ठूलो गर्व र प्रेरणाको स्रोत रहेको बताए ।

‘यी सफलताहरू सिङ्गापुर एयरलाइन्सका व्यवस्थापक र कर्मचारीहरूका लागि ठूलो गर्व र प्रेरणाको स्रोत हुनुपर्छ। अवार्डको इतिहासमा सिङ्गापुर एयरलाइन्सले यो सर्वोच्च सम्मान जितेको यो छैटौँ पटक भएकाले यसलाई अझ विशेष बनाएको छ,’ उनले भने ।

सिंगापुर एयरलाइन्सका मुख्य कार्यकारी अधिकृत गो चुन पोङले यो पुरस्कार आफ्ना कर्मचारीहरूको समर्पण र व्यावसायिकताको प्रमाण भएको बताए । यसले एयरलाइनको सेवा र परिचालन उत्कृष्टताको स्तरलाई निरन्तर कायम राख्न प्रयास गर्ने उनको भनाइ छ ।


Back_to_top