काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा उत्पादन गर्न लागेको नयाँ इलेक्ट्रीक कारको विभिन्न फिचरहरु बाहिर आउन थालेका छन् । कम्पनीले ४ मिटरभन्दा छोटो साइजमा ल्याउने इलेक्ट्रिक एसयूभीको कोण नेम ‘एचइ१आई’ राखेर विकास गरिरहेको हो ।
क्रेटा इलेक्ट्रीकभन्दा कम मूल्य राखेर बजारमा ल्याउने तयारी भइरहेको हुन्डाईको नयाँ एसयूभी सन् २०२७ को सुरुवातमै बजारमा आउने भएको छ । कम्पनीले २०२७ फेब्रुअरीमा आयोजना हुने भारत मोबिलिटी अटो एक्स्पोपछि यसको बिक्री थाल्ने अनुमान छ ।
एचइ१आईको एउटा प्रोटोटाइप आन्ध्र प्रदेशको विजयवाडास्थित हुन्डाई माया अटोबान चार्जिङ स्टेसनमा देखिएको तस्बिर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । डा. एमडी इफ्तेकार अलीले सार्वजनिक गरेको विवरणअनुसार हुन्डाईको परीक्षण टोलीले त्यहाँ १२० किलोवाट क्षमताको चार्जिङ स्टेशन खोजेका थिए । यसले कम्पनीको नयाँ ईभी क्रेटाभन्दा तिब्र गतिमा चार्ज हुने अनुमान गर्न सकिन्छ ।
चार्जिङको अलावा सडक परीक्षणबाट अर्को नयाँ कुरापनि बाहिर आएको छ । सार्वजनिक भएको तस्बिरका आधारमा फरक हेडलाम्प डिजाइन देख्न सकिन्छ । नयाँ इलेक्ट्रीक एसयूभीको माथिल्लो भागमा स्लिम लाइटिङ स्ट्रिपसहित स्प्लिट हेडलाम्प डिजाइन छ ।
सम्भवत हुन्डाईले नयाँ ईभीको भेरियन्ट अनुसार फरक डिजाइनको हेडल्याम्प दिनेछ ।

एचइ१आईमा बक्सी डिजाइन, ठूलो ग्लास एरिया, फ्ल्याट रूफलाइन र जियोमेट्रिक एलोय ह्विल देख्न सकिन्छ । यसमा ठूलो सेन्ट्रल टचस्क्रिन, लेभल-२ एडीएएस र हुन्डाईको प्लीयोस कनेक्ट प्रविधि रहने अनुमान छ ।
हुन्डाईले नयाँ एसयूभी आफ्नो ई-जीएमपी (के) आर्किटेक्चरमा आधारित रहेर उत्पादन गर्न लागेको मोडल हो । कम्पनीले अहिलेसम्म यसमा रहने ब्याट्री क्षमता, रेन्ज र चार्जिङ स्पीडका विषयमा कुनै पनि आधिकारीक धारणा बाहिर ल्याएको छैन ।

