काठमाडौं । सरकारले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिरमा पहिरोको दीर्घकालीन समस्या समाधानका लागि अध्ययन सुरू गरेको छ ।
सडक विभागले कृष्णभीरमा पहिरोको जोखिम रहेको ठाउँमा विकल्पको रुपमा सुरूङमार्ग वा भायडक्ट सडक निर्माण गर्न प्राविधिक अध्ययन सुरू गरेको हो ।
सडक विभागका महानिर्देशक डा. विजय जैशीले सोमबार पूर्वाधार विकास समितिको बैठकमा कृष्णभीरमा पहिरोको दीर्घकालीन समाधानका प्राविधिक अध्ययन अघि बढाइएको जानकारी दिए ।
उनले कृष्णभीर क्षेत्रमा सुरूङमार्ग निर्माण गर्ने वा भायडक्ट सडक निर्माण गर्ने भन्ने विकल्पमा अध्ययन सुरू भइरहेको बताए । हाल भइरहेको अध्ययनको प्रतिवेदन तयार हुन करिब २ महिना लाग्ने उनले बताए । प्रतिवेदन आएलगत्तै ठेक्का आह्वान गरी निमार्ण अघि बढाइने उनको भनाइ छ ।
‘कृष्णभीर पहिरोको दघीकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन सुरू भइसकेको छ । त्यहाँ टनेल खन्ने वा अगाडितिर भायोडक्ट बनाएर सडक जोड्ने भन्ने दुई विकल्पमा अध्ययन सुरू भएको हो । दुई महिना जतिमा टेक्निकल रिपोर्ट आउँछ । त्यसपछि हामी ठेक्कामा जान्छौं,’उनले भने ।
उनले पृथ्वी राजमार्गको पारिपट्टी वैकल्पिक सडक निर्माण पनि सँगसँगै अघि बढाइएको जानकारी दिए । उनले हालसम्म फिस्लिङतर्फ करिब १.५ किलोमिटर भिर काट्ने काम सुरू भएको बताए ।
गत भदौ १४ गते त्रिशूलीको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि २१ दिनसम्म सडक अवरुद्ध भएको थियो । अहिले पहिलाको सडकभन्दा माथितिर २७० मिटर नयाँ ट्रयाक खोलेर सवारी आवतजावतको व्यवस्था मिलाइएको छ ।

