काठमाडौं । भारतीय बजारमा कार उत्पादन गर्दै आएका सबै ब्राण्ड विद्युतीय कारमा केन्द्रित भएका छन् । यसले सन् २०२७ फेब्रुअरीमा आयोजना हुने भारत मोविलिटी एक्स्पो पूर्णतः ईभीमय हुने देखियो ।
मध्यपूर्वको द्धन्द्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिसँगै भारतमा ईभीको बिक्रीमा उछाल आइरहेको छ । सबै कम्पनीले अघिल्लो वर्षको तुलनामा ईभी बिक्री दोब्बरले बढाएका छन् ।
बजारमा माग उच्च भएसँगै कार निर्माता कम्पनीहरू नयाँ मोडल उत्पादनमा केन्द्रित भएका छन् । जसमध्ये साना र कम्प्याक्ट साइजका ईभी नै झण्डै आधा दर्जन मोडल बजारमा आउने तयारीमा छन् ।
प्रिमियम मोडलमा धेरै कम्पनीको ध्यान ईभीमा भए पनि साना-मझौला ईभीमा कम्पनीहरू केन्द्रित हुन सकेका थिएनन् । अब भने हुन्डाई, टाटा, रेनो, भिनफास्ट र मारुती सुजुकी जस्ता ब्राण्ड साना र मझौला कार बजारमा ल्याउन लागि परेका हुन् ।
हुन्डाईले यसै वर्ष नोभेम्बर वा डिसेम्बरमा क्रेटाभन्दा सानो साइजमा एसयूभी बजारमा ल्याउँदैछ । कम्पनीले यसको नाम भने राखिसकेको छैन । यसको आधिकारिक बिक्री भने २०२७ फेब्रुअरीबाट सुरू हुने जनाइएको छ ।

भारतको बजारमै विकास गरिएको हुन्डाईको नयाँ एसयूभी बक्सी डिजाइनमा आउने छ । यसमा ९.९ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १२.९ इन्च इन्फोटेनमेन्ट स्क्रीन रहने सम्भावना छ । दुई ब्याट्री विकल्पमा आउने नयाँ एसयूभीमा एलएफपी ब्याट्री रहने बताइएको छ ।
टाटाले सन् २०२७ को मध्यतिर नेक्सनको नयाँ जेनेरेसन मोडल बजारमा ल्याउने तयारी गरेको छ । यसको डिजाइन विल्कुलै नयाँ र बिल्ड क्वालिटीमा पनि सुधार ल्याउने जनाइएको छ ।
फ्रेन्च कार निर्माता रेनोले पनि केही महिना पछि नै ब्रिजर एसयूभी भारतमा लन्च गर्ने जनाएको छ । यसलाई पेट्रोल, हाइब्रिड र इलेक्ट्रीक पावरट्रेनमा ल्याउन लागिएको छ ।
भिनफास्ट भीएफएक्स पनि सानो साइजको एसयूभी हो । भियतनामी कम्पनीले कम मूल्यको गाडी खोज्ने उपभोक्ताको लागि तयार पारेको भीएफएक्स मोडल नेपालको लागि पनि सुहाउँदो मोडल हुने अनुमान छ ।
मारुती सुजुकीले पनि सानो साइजको विद्युतीय कार बजारमा ल्याउँदैछ । कम्पनीका अनुसार यो ‘ए–सेग्मेन्ट’ कार हुनेछ । यसको प्रतिस्पर्धा भने टाटा टियागो ईभीसँग हुनेछ ।

