काठमाडौं । विश्व अटोमोबाइल उद्योग अहिले एउटा मात्रै प्रविधि विकासमा केन्द्रित छैन । विद्युतीय सवारीको विस्तारसँगै विश्वका प्रमुख अटोमोबाइल उत्पादन गर्ने शक्ति राष्ट्रहरूले थप नयाँ प्रविधि खोजिरहेका छन् ।
अहिलेको अवस्थालाई हेर्दा चीन इलेक्ट्रीक भेहिकलको उत्पादनमा केन्द्रित देखिन्छ । उसले सन् २०२५ निर्यातमा जापानलाई उछिन्दै सबैभन्दा धेरै कार उत्पादन हुने देश, सर्वाधिक कार निर्यात गर्ने देश र सर्वाधिक कार बिक्री गर्ने देशका रूपमा आफूलाई उभ्याएको छ ।
अमेरिका भने सफ्टवेयर तथा कृत्रिम बौद्धिकतामा आधारित कार उत्पादनमा अग्रसर भएको पाइन्छ । अटोमोबाइल क्षेत्रको टेक्नोलोजी विस्तारमा टेस्लाले अग्रणी भूमिका खेल्दै आएको छ ।
अटोमोबाइलमा निकै बलियो मानिएको जापान भने हाइड्रोजन र नयाँ ब्याट्री प्रविधि विकासमा केन्द्रित देखिन्छ । कुनै समय जापानका आधादर्जन ब्राण्ड विश्वमै शक्तिशाली थिए । अहिले ती विस्तारै कमजोर हुँदै गएका छन् ।
त्यसैले यी तीन देशले अटोमोबाइल क्षेत्रमा प्रभाव जमाउन गरिरहेको प्रविधि विकासका बारेमा हामीले यहाँ चर्चा गर्न लागेका छौं ।
चीन
ईभी उत्पादनमा चीन स्पष्ट देखिन्छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार चीनले सन् २०२५ मा विश्वभर उत्पादन भएका विद्युतीय कारमध्ये करिब ७५ प्रतिशत बनाउन सफल भयो । उसले २०२५ मा २ करोडभन्दा बढी युनिट ईभी उत्पादन गरेको थियो ।

चीन केवल कार उत्पादनमा सीमित छैन । ब्याट्री, ब्याट्रीका कच्चा पदार्थ तथा कम्पोनेन्ट, चार्जिङ पूर्वाधार र विद्युतीय सवारीको आपूर्ति शृंखलासम्म चीनले ठूलो लगानी गरेको छ । सन् २०२५ मा विश्वको ८० प्रतिशतभन्दा बढी हाइभोल्टेज ब्याट्री चीनकै बनेको हो ।
चिनियाँ कम्पनीहरू बीवाइडी, जिली, एसएआईसी, चेरी, चांगान, ग्रेटवाल मोटर्स, डोङफेङ, जीएसी, बीएआइसी जस्ता उत्पादक विश्व बजारमा फैलिरहेका छन् । चीनको लक्ष्य अब आफ्नै बजारमा ईभी बेच्नु मात्रै होइन, विश्व बजारमा प्रतिस्पर्धी ब्राण्ड का रूपमा स्थापित हुनु हो ।
अमेरिका
अमेरिकाको बाटो भने केही फरक देखिन्छ । यसको प्रमुख उदाहरण टेस्ला हो । टेस्लाले विद्युतीय कारलाई केवल एउटा उत्पादनका रूपमा नभई सफ्टवेयर, कृत्रिम बौद्धिकता र स्वचालित ड्राइभिङसँग जोड्ने प्लेटफर्मका रूपमा विकास गर्दै आएको छ ।

टेस्लाको रोबोट्याक्सी सेवा अमेरिकाका केही शहरमा संचालनमा आइसकेको छ । साइबरक्याबजस्ता पूर्ण स्वचालित सवारीको अवधारणा अमेरिकामा तीव्र गतिमा विस्तार भएको छ । टेस्लाको आफ्नै दस्तावेजले पनि रोबोट्याक्सी, एफएसडी, रोबोभ्यान र एआईलाई भविष्यको मुख्य उत्पादनका रूपमा प्रस्तुत गरेको छ ।
त्यसैले अमेरिकी प्रतिस्पर्धा केवल ‘कति वटा कार उत्पादन गर्ने’ भन्नेमा सीमित छैन । कारभित्र प्रयोग हुने सफ्टवेयर, एडास, सेल्फ ड्राइभिङ, डेटा र एआईले भविष्यको अटोमोबाइल उद्योगमा कति ठूलो भूमिका खेल्छ भन्नेमा देखिन्छ ।
जापान
जापानको बाटो भने ईभीको दौडभन्दा अलि फरक छ । टोयोटा र अन्य जापानी कम्पनीहरूले लामो समयदेखि हाइड्रोजन फ्युलसेल प्रविधिमा लगानी गर्दै आएका छन् । टोयोटाले सन् २०१५ मै करिब ५ हजार ६८० हाइड्रोजन फ्युलसेल सम्बन्धी पेटेन्ट सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने घोषणा गरेको थियो ।
टोयोटाले सन् २०२५ मा तेस्रो पुस्ताको फ्युलसेल प्रणाली विकास गरेको घोषणा गर्दै यसलाई यात्रुवाहक कारसँगै व्यावसायिक तथा भारी सवारीमा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ ।

यी सबैका बीच पनि जापान ईभीबाट पनि टाढिएको छैन । विशेषगरी टोयोटाले अल-सोलिड-स्टेट ब्याट्रीलाई भविष्यको अर्को महत्वपूर्ण प्रविधिका रूपमा अघि बढाइरहेको छ । कम्पनीले सन् २०२७/२८ तिर सोलिड-स्टेट ब्याट्रीसहितको ईभी बजारमा ल्याउने लक्ष्य राखेको छ ।
अबको प्रतिस्पर्धा कहाँ पुग्छ ?
यी तीनवटा बाटाले एउटा महत्वपूर्ण संकेत के गर्छ भने भविष्यको अटोमोबाइल उद्योग केवल ईभीमा सीमित रहने छैन ।
चीनले ब्याट्रीदेखि कार र चार्जिङसम्मको इकोसिस्टम निर्माण गरिरहेको छ । अमेरिका कारलाई सफ्टवेयर र एआई प्लेटफर्ममा रूपान्तरण गर्ने दिशामा अगाडि बढेको छ । जापान भने हाइड्रोजन, हाइब्रिड र सोलिड-स्टेट ब्याट्रीजस्ता बहुप्रविधिमा बराबर तरिकाले काम गर्दैछ ।
त्यसैले आगामी दशकमा विश्व अटोमोबाइल उद्योगको नेतृत्व यी तीन मध्ये कसले गर्छ भन्ने प्रश्नको उत्तर सजिलो छैन । आज देखिएको तीन देशले लिएको फरक तीन बाटा प्रतिस्पर्धाको होइन । भविष्यको मोबिलिटी कस्तो हुनेछ भन्ने तीन फरक औद्योगिक दृष्टिकोण हुन् ।

