नेपाल आयो क्रशफायरको नयाँ मोटरसाइकल, ५० हजार तिरेर बुकिङ्ग गर्न सकिने

काठमाडौं । डर्ट बाइक बिक्रेता कम्पनी क्रशफायरले नेपालमा नयाँ बाइक एनसी २५०को बुकिङ्ग खुलाएको छ । करिब एक महिना अगाडि सार्वजनिक भएको यो बाइक ५० हजार रुपैयाँमा बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको हो । 

केही समय अगाडिमात्रै डर्ट मोटरसाइकल जिआर ७ को नयाँ संस्करण अनावरण गरेको क्रशफायरले अल न्यु एनसी २५० को वितरण सुरु गर्ने भएको हो । कम्पनीको लागि नेपालको आधिकारिक वितरक क्लासिक ह्वील एक्सपोर्ट एन्ड इम्पोर्टले मोटरसाइकलको सुरुवाति मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको थियो । बुकिङ्ग गरेको १० दिनभित्र  ग्राहकलाई बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यस्ता छन् विशेषता

मोटार्ड र डर्ट गरि दुई भेरियन्टमा बिक्री हुने यो मोटरसाइकल एक्सजेड २५० आरआरको परिमार्जित संस्करण हो । यसमा उपलब्ध कुलिङ सिस्टमको जेडएस १७७ एम लिक्वीड कुल्ड इन्जिनले ३० हर्ष पावरका साथै २३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पिड गियरबक्स लगाइएको छ । 

फ्रन्ट र रियर साइडमा ब्रेम्बो डिस्क ब्रेकिङ सिस्टम दिइएको छ भने मोटरसाइकलमा प्रो लिंक सिंगल सक र स्प्रिङ प्रिलोडको सस्पेन्सनको फिचर दिइएको छ । फरक विशेषता समेटिएको एनसी २५० मा हेलोजन हेडलाइट, एलइडी टेलल्याम्प, एलइडी टर्निङ लाइट, अपसाइड डाउन फर्क र डिजीटल इन्स्ट्रुमेन्ट डिस्प्लेको फिचर दिइएको छ । 

सिएनसी क्लिनिङ फुट पेज, क्युबिक हेडलाइटको फिचर समेटिएको यो मोटरसाइकल सेतो र रातो कलर अप्सनमा उपलब्ध हुनेछ ।

यसले प्रतिलिटर ३० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । कुल तौल १०७ किलोग्राम भएको यो मोटरसाइकलको सिट हाइट ९४० एमएम र ग्राउन्ड क्लियरेन्स ३३० एमएम रहेको छ । यसमा ९ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको छ ।

मोटार्ड र डर्ट भेरियन्टमा यस्तो फरक

एनसी २५०को यी दुई भेरियन्टमा प्रायतः समान प्रकारको विशेषता समेटिएका छन् । समान इन्जिन, पर्फमेन्स, लुक्स र डिजाइनमा तयार भएको यी मोडलमा टायर भने, फरक फरक साइजको लगाइएको छ । 

डर्ट भेरियन्टको फ्रन्टमा २१ र रियर साइडमा १८ इन्चको ह्वील लगाइएको छ । मोटार्ड भेरियन्टको दुबै साइडमा समान १७ इन्चको ह्वील लगाइएको छ । आधुनिक डिजाइनमा निर्माण भएको यो मोडलले नेपाली बजारमा एसियन बिस्ट र सिएक्स २५०सँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । 

फाइनान्स सुविधा

फाइनान्स सुविधामा एनसि २५० किन्ने ग्राहकले सुरुवातमा ६० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने छ । कम्पनीले ग्राहकलाई अधिकतम दुई वर्षको लागि कर्जा उपलब्ध गराउने भएको छ ।


Back_to_top