काठमाडौं । नेपालमा सामान्यभन्दा सामान्य जागिर खानका लागिसमेत कम्तीमा स्नातकसम्मको औपचारिक डिग्री माग्ने चलन छ । यस्तो पृष्ठभूमिमा विश्वकै प्रतिष्ठित प्रिमियम इलेक्ट्रीक कार बनाउने कम्पनी टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले आफ्नो कम्पनीमा काम गर्नका लागि कुनै खाले औपचारिक डिग्री नभएपनि हुने भनेर गरेको ट्वीटले धेरैलाई अचम्मित तुल्याउन सक्छ । मस्कले गत आइतबार यस्तो ट्वीट गरेका हुन् ।
यसका बारेमा सञ्चार माध्यमहरुले प्रश्न गर्दा उनले भने, ‘हो, टेस्लामा काम गर्नका लागि संभावना भएका कर्मचारीहरुको औपचारिक डिग्री नभएपनि फरक पर्दैन ।’
‘टेस्लामा काम गर्नका लागि कलेजको डिग्री हुनु ठ्याम्मै आवश्यक छैन । स्कुलको डिग्रीको पनि आवश्यकता पर्दैन’, उनी भन्छन्, ‘यदि कसैले कुनै महान विश्वविद्यालयबाट डिग्री प्राप्त गरेका छन्, भने त्यसले उनीहरु प्रभावकारी काम गर्नका लागि योग्य छन् भन्ने संकेत पक्कै पनि गर्छ । तर, सधैं यस्तै अवस्था हुन्छ भन्ने हुँदैन ।’
बिल गेट्स, ल्यारी एलिसन, स्टिभ जब्स जस्ता मानिसरुसँग कलेजको डिग्री नै छैन । तर, उनीहरु जस्ता मानिसहरुलाई आफ्नो कम्पनीमा भर्ती गर्न पाए कसले गर्दैन रु उनी प्रश्न गर्छन् ।
प्रतिष्ठित कलेजको डिग्रीभन्दा आफू मानिसमा अन्तर्निहित क्षमता पर्गेल्नमा बढी जोड दिने उनले बताए । यदि कसैले जीवनको कुनै अप्ठ्यारा मोडहरुमा केही विशेष खाले क्षमता देखाएका छन् भने उनीहरुले भविष्यमा पनि त्यस्ता क्षमता देखाउने संभावना बढी हुने मस्कको बुझाइ छ ।
यसै मेसोमा मस्कले टेस्लामा जागिरका लागि आउने मानिसहरुसँग अन्तर्वाताका क्रममा आफूले जहिले पनि जीवनमा आइपरेका कठिन मोडहरुमा त्यसलाई उनीहरुले कसरी समाधान गरे भनेर सोध्ने गरेको बताए ।
‘मानिसहरुले अरुले गरेको कामको जश आफूने नलिउन भनेर म जहिले पनि त्यस्ता अन्तर्वार्ताहरु निकै विस्तृतमा लिने गर्दछु । सानो सानो ‘डिटेल’को पनि मूल्याङ्कन गर्ने गर्छु्’, उनले भनेका छन् । मस्क आफैंले भने पेन्सलभेनिया विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिक विज्ञानमा स्नातक गरेका छन् ।
एप्पल, टेस्ला जस्ता भविष्यमुखि र मानव समाजको विकासको प्रक्रिया नै बदल्नसक्ने ल्याकत राख्ने कम्पनीहरुको मानव संशोधन नीति सबैले मनन गर्नुपर्ने विषय हुँदैहो ।
नेपालजस्तो औपचारिक डिग्रीलाई अति नै महत्व दिने तर, व्यक्तिको नियत र अनुभवजन्य ज्ञान र सीपको मापन गर्ने कुनै संरचनागत आधार नै तयार नपार्ने श्रम बजार भएको देशमा त झन् यस्ता विचारहरु प्रति निकै मनन गर्नुपर्ने अवस्था छ ।


