जावा मोटरसाइकलको क्रेजः भारतमा बुकिङ खुल्दा वेवसाइट नै क्रयास

जावाको बहुप्रतिक्षित मोटरसाइकल पेरकको बुकिङ खुल्दा वेवसाइट नै क्रयास भएको कम्पनीले जनाएको छ । कम्पनीले उक्त सूचना ट्वीट मार्फत दिएको हो ।

लामो समय पश्चात् भारतीय बजारमा प्रवेश गरेको मोटरसाइकल जावाको क्रेज बढ्दै गइरहेको छ । हाल जावाका दुई मोडलका भारतमा उत्पादन भइरहेको छ ।

यस्तोमा जावा पेरकको डेलिभरी २०२० अप्रिलबाट सुरु गर्ने कम्पनीले् जनाएको छ । यसअघि जावाले दुई मोटरसाइकल २०१८ को अन्तिमा सार्वजनिक गरेको थियो । थोरै यूनिटमात्रै उत्पादन भइरहेको जावा मोटरसाइकलको उत्पादनमा वृद्धि भएसँगै यसको डेलिभरी सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

२ अप्रिल २०२० बाट डेलिभरी सुरु हुने जावा पेरकलाई १० हजार भारतीय रुपैयाँ टोकन रकम तिरेर ग्राहकले बुकिङ गर्न सक्ने बताइएको छ । हिजो जनवरी १ को साँझ ६ बजेबाट बुकिङ खुल्ला भएकोमा केही मिनेटपछि नै वेभसाइट डाउन भएको कम्पनीले जनाएको छ ।

जावा पेरकमा ३३४ सीसी सिगंल सिलिन्डर, लिक्वीड कल्ड, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले ३० बीएच पावर तथा ३१ एनएम टर्क जनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यो बब्बर डिजाइन मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक तथा रियरमा मोनोसक सस्पेन्सन रहेको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस सहित दुबै ह्वीलमा डिस्क ब्रेक दिएको छ ।

नेपाली बजारमा पनि २०२० को मध्येसम्म जावा ब्राण्डले बिक्री सुरु गर्ने जनाइएको छ । यसलाई नेपालमा महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले ल्याउने जनाइएको छ ।


Back_to_top