ब्रिजस्टोन टायरको अधिकृत वितरक एटीसी प्रालिले ज्ञानेश्वरमा बिक्री तथा सेवा केन्द्रको औपचारिक शुभारम्भ गरेको छ । कम्पनीका अनुसार सो केन्द्रमा एकै छानामुनि टायर सम्बन्धी विश्व स्तरीय सेवाहरु उपलब्ध भएको बताइएको छ । सो केन्द्रमा डिजिटल प्रविधिबाट टायरको हेल्थ परीक्षण, दुई चरणमा गरिने ह्विल एलाइनमेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिफ्ट र ह्विल ब्यालेन्सर उपलब्ध छन् । त्यसैगरी टायरमा नाइट्रोजन हावा भर्ने, टायर परिवर्तन गर्ने र फिटिङ तथा रोटेशन जस्ता सेवा सुविधाहरु समेत उपलब्ध हुन्छ ।
केन्द्रले आगामी दिनमा गाडीको ब्याट्री परिवर्तन र एसीमा ग्यास भर्ने सेवाहरु समेत दिने बताएको छ । त्यसैगरी निकट भविष्यमै देशका विभिन्न स्थानहरुमा यस्ता किसिमका बिक्री तथा सेवा केन्द्रहरु आवश्यकता अनुरुप विस्तार गर्दै लैजाने बताएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक मनोज सेठियाले भने ‘गाडीको समग्र पर्फमेन्समा टायरको भूमिका र महत्व धेरै हुने कुरालाई चालकहरुले बुझ्न आवश्यक भएको बताउदै सेवा केन्द्रबाट सेवा लिई समय र पैसाको बचत गरी लाभ उठाउन सबै गाडी धनी तथा चालकका साथै सम्पूर्ण उपभोक्ताहरुलाई अनुरोध गरे ।’
एटीसी प्रालिले विगत ६० वर्षदेखि ब्रिजस्टोन टायरको नेपालको लागि आधिकारिक वितरकको रुपमा रही कार्य गरिरहेको छ । कम्पनीले नेपालभर रहेका आफ्ना बिक्री सञ्जालमार्फत अर्थमुभर्स, ट्रक तथा बस, एसयूभी र अन्य यात्रु कारहरुको टायर बिक्री गर्दै नेपाली बजारमा छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।

ब्रिजस्टोन टायर विश्वकै नम्बर १ रबर कम्पनीद्वारा उत्पादन गरिने कम्पनीको दाबी छ । सन् १९३१ मा जापानको टोकियोमा यसको कर्पोरेट कार्यालयका साथ ब्रिजस्टोनको स्थापना भएको थियो । टायर बिक्री र ग्राहक ब्रान्ड भ्यालुका आधारमा वर्ल्ड रबरद्वारा यो विश्वमा नम्बर १ घोषणा गरिएको ब्रान्ड हो ।
कम्पनीले विश्वभर १५० भन्दा बढी देशहरुमा ५७ टायर निर्माण संयन्त्रद्वारा आफ्ना उत्पादन र सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

