मासिक ३४ सयदेखि किस्ता तिरेर किन्न सकिने मोटरसाइकल

काठमाडौं । सहरी सवारीका रुपमा मोटरसाइकललाई लिइन थालिएको छ । साँघुरा बाटो, धेरै ट्राफिक जाम तथा सार्वजनिक यातायातको कजोर उपलब्धताले मोटरसाइकल प्रयोगकर्ता बढ्दै गइरहेका छन् ।

त्यस्तै सहरहरुको विकास बढ्दै गएकाले पनि मोटरसाइकल प्रयोग गर्नेहरुको संख्या बढ्दो छ । मूल्य तथा माइलेजका हिसाबले सस्तो मोटरसाइकल उपभोक्ताको रोजाइमा पर्ने गर्छ ।

यस्तोमा मासिकरुपमा ३ हजार ५०० देखि ६ हजारसम्म तिरेर किन्न सकिने थुप्रै मोटरसाइकल बजारमा उपलब्ध रहेका छन् । हामीले यी मोटरसाइकलको किस्ता गणना गर्दा ४० प्रतिशत डाउन पेमेन्ट र १६ प्रतिशतको अधिकतम व्याजदरलाई आधार मानेर गरेका छौं ।

नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो मोटरसाइकल टीभीएसको एक्सएल-१०० रहेको छ । यो मोटरसाइकलको मूल्य १ लाख १५ हजार ९०० रुपैयाँ तोकिएको छ । यो नेपालमा बिक्री हुने सबैभन्दा सस्तो मोटरसाइकल हो । विशेष गरेर धेरै सामान ओसार पसार गर्नु पर्नेले यसको प्रयोग गरिरहेका हुन्छन् । यसलाई किस्तामा किन्दा ३ हजार ४ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

त्यस्तै टीभीएस कै रेडनको मूल्य १ लाख ७९ हजार ९०० रुपैयाँ पर्छ । नेपाली बजारमा टीभीएस मोटरसाइकल जगदम्बा मोटर्सले उपलब्ध गराउँदै आएको छ । यसको मासिक किस्ता ५ हजार ३०० रुपैयाँ तिर्नेगरी किन्न सकिन्छ ।

सस्तो सेगमेन्टमा रनरको मोटरसाइकल पनि छन् । रनरको बाइक आरटी ८० सीसी इन्जिन क्षमताको मोटरसाइकल हो जसको नेपाली बजार मूल्य १ लाख ४२ हजार रुपैयाँ रहेको छ । बंगालादेशी मोटरसाइकल रनर नेपाली बजारमा रमन मोटर्सले बिक्री गर्दै आएको छ । अहिले २० हजार रुपैयाँ छुटको अफर चलिरहेको कम्पनीले जनाएको छ । यस्तोमा यो मोटरसाइकल १ लाख २२ हजार रुपैयाँमा नै ग्राहकले किन्न सक्ने छन् । यसरी हेर्दा यसलाई किस्तामा किन्दा ३६ सय मासिक किस्ता बुझाउने गरि किन्न सकिन्छ ।

महिन्द्राका सेन्टुरो रकस्टार मोटरसाइकल नेपाली बजारमा उपलब्ध छ जसको मूल्य १ लाख ५१ हजार ५ सय रुपैयाँ रहेको छ । १ सय १० सीसीको यो मोटरसाइकल रकस्टार र डिसब्रेक दुई मोडलमा उपलब्ध छ । महिन्द्राका मोटरसाइकल अग्नी मोटोइन्कले बिक्री गर्दै आएको छ । यसको मासिक किस्ता ४५ हाराहारी पर्नेछ ।

बजाज मोटरसाइकल नेपाली बजारमा हंसराज हुलासचन्द एन्ड कम्पनीले उपलब्ध गराउँदै आएको छ । बजाजको सबैभन्दा सस्तो मोटरसाइकल प्लाटिना १०० इएस हो जसको मूल्य १ लाख ६५ हजार ९ सय रुपैयाँ रहेको छ । यसलाई ऋणमा किन्न चाहनेले ४ हजार ८ सय रुपैयाँ मासिक किस्तामा किन्न सक्ने छन् ।

होन्डाको मोटरसाइकल नेपाली बजारमा स्याकार ट्रेडिङले बिक्री गर्दै आएको छ । होन्डाको सस्तो मोटरसाइकल सीडी ड्रिम बीएलएक्स हो जसको बजार मूल्य १ लाख ८४ हजार ९ सय रुपैयाँ रहेको छ । यो मोटरसाइकल मासिक ५५०० रुपैयाँसम्म किस्ता तिर्नेगरी खरिद गर्न सकिन्छ । मासिक ५३ सय रुपैयाँ तिर्नेगरी यसलाई ग्राहकले किन्न सक्ने छन् ।

 

त्यस्तै सुजुकीको सस्तोमा हायाते इपी रहेको छ । १ सय १३ सीसी इन्जिन क्षमताको यो मोटरसाइकलको बजार मूल्य १ लाख ७८ हजार ९ सय रुपैयाँ रहेको छ । यसलाई सुजुकी भीजीले नेपालमा बिक्री गर्दै आएको छ ।

हिरोको आधिकारीक वितरक एनजीएमले नेपालमा बिक्री गर्दै आएको ९७.२ सीसी क्षमताको इन्जिनयुक्त एचएफ डिलक्स मोडलको मूल्य १ लाख ६६ हजार रुपैयाँ रहेको छ । यसलाई मासिक किस्ता ४ हजार ९०० रुपैयाँ तिरेर खरिद गर्न सक्ने छन् । यी बाहेका हिरोका अन्य केही मोडल, बजाज र टीभीएसका केही मोडलपनि कम मूल्यमा पाइने मोटरसाइकलमा पर्छन् ।


Back_to_top