यस्तो छ हिरोको इलेक्ट्रीक मोटरसाइकल ‘एई ४७’

ग्रेटर नोयोडा । हिरो इलेक्ट्रीकले विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्ने बताइसकेको थियो । यससँगै कम्पनीले अटो एक्स्पो २०२० मा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको यो सबैभन्दा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल रहेको छ । यो मोटरसाइकलले एक पटकको फुल चार्जमा १६० किलोमिटर रेञ्ज प्रदान गर्छ भने यसले १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न सक्छ । यसको नाम ‘एइ ४७’ दिइएको छ ।

यसमा ६ किलोवाटको मोटर उपलब्ध रहेको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्न मात्र ९ सेकेन्ड लगाउने कम्पनीको दावी रहेको छ । कम्पनीका अनुसार ३.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याकले पावर मोडमा ८५ किलोमिटर तथा इको मोडमा १६० किलोमिटर रेन्ज प्रदान गर्ने बताएको छ । यसका साथै ४ घन्टामा यो व्याट्री फुलचार्ज हुनेसमेत कम्पनीको दावी रहेको छ ।

यसको दुबै ह्वीलमा डिस्क ब्रेक रहेको छ । फ्रन्टमा २९० एमएम तथा रियरमा २१५ एमएमको डिस्क ब्रेक रहेको छ भने, अगाडि टेलिस्कोपिक तथा रियरमा मोनोशक दिइएको छ । यसका साथै यो मोटरसाइकलमा क्रुज कन्ट्रोल फिचर समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
डिजिटल कन्सोल, किलेस सिस्टम, मोवाइल चार्जर पोर्ट, रिर्भस गियर जस्ता फिचरले यसलाई विशेष बनाएको छ । साथै मोवाइल एपमार्फत स्मार्ट कनेक्ट सिस्टम समेत रहेको छ ।

यो मोटरसाइकल यो बर्षको अन्त्यमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ भने यसको मूल्य १ लाख ५ हजार भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।


Back_to_top