काठमाडौं । मारुती सुजुकी नेपालमा धेरै गाडी बिक्री हुने मध्येको एक ब्राण्ड हो । त्यसमा पनि कम्पनको बी सेग्मेन्ट ह्याचव्याक मोडल सेलेरियो निकै राम्रो बजार लिन सफल मोडल हो । अब भने कम्पनीले यही चर्चित मोडलको नयाँ जेनेरेशन मोडल ल्याउने भएको छ ।
कम्पनीले सन् २०१४ मा पहिलो पटक बजारमा ल्याएको सेलेरियो २०१७ मा फेसलिफ्ट गरेर सार्वजनिक गरेको थियो । अब भने कम्पनीले नयाँ जेनेरेशन मोडल ल्याउने भएको हो ।
कम्पनीले यसको नयाँ मोडल आगामी जुन महिनासम्ममा बजारमा ल्याउने अनुमान गरिएका छ । कम्पनीले यसको नयाँ जेनेरेशन मोडलमा आफ्नो चर्चित के१२बी पेट्रोल इन्जिन दिने बताइएको छ ।
नयाँ जेनेरेशन सेलेरियोमा दिइने १.२ लिटर इन्जिनले ८३ बीए पावर र ११३ एनएम टर्क प्रदान गर्नेछ । यही इन्जिन कम्पनीको वागेनआर, स्वीफ्ट लगायतका मोडलमा रहेको छ ।
अहिलेको मोडलमा १.० लिटर के सिरिज इन्जिन उपलब्ध रहेको छ उक्त इन्जिनले ६७ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्छ । सेलेरियोले बजारमा हुन्डाई सेन्ट्रो, टाटा टियागो र रेनो क्वीडको टप भेरियन्टसँग प्रतिस्पर्धा गरिरहेको छ ।

