काठमाडौं । बजाज मोटरसाइकलले एक महिनाअघि भारतमा २५० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइल डोमिनार २५० सार्वजनिक गरेको थियो । यसको बिक्री वितरणलाई व्यापक बनाउन नपाउँदै कोरोना (कोभिड १९) भाइरसको कारण लकडाउन सुरु भएपछि त्यसको बजारिकरण सुरु हुन सकेको छैन । अब बजाजले २५० सीसी सेग्मेन्टमा नै पल्सर २५० बनाइरहेको खबरहरु बाहिर आएको छ ।
बजाज भारतीय मोटरसाइकल उत्पादक कम्पनी हो । कम्पनीले सन् २००१ बाट पल्सर सिरिजको सुरुवात गरेको थियो । अहिले विश्वका ७० भन्दा बढी देशमा बिक्री वितरण भइरहेको पल्सर सिरिजमा कम्पनीले नयाँ मोडल पल्सर २५० बजारमा ल्याउने भएको हो ।
कम्पनीले ल्याउने नयाँ पल्सर २५० नेकेड स्ट्रीटफाइटर डिजाइनमा हुने छ । यसमा पनि कम्पनीले डोमिनार २५० मा दिइएको समान इन्जिन दिने अनुमान गरिएको छ । डोमिनारमा २५० मा २४८.८ सीसी क्षमताको लिक्विड कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २६.६० बीएच पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्छ । साथै यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
पल्सर २५० मा दुबै चक्कामा डिस्क ब्रेक रहने छ भने यसलाई सिंगल च्यानल एबीएस सहित बजारमा ल्याउने जनाईएको छ । साथै, यसमा रहने सबै लाइटहरु एलइडी रहने छ ।
कम्पनीले नयाँ पल्सरलाई यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ । तर, यस विषयमा कम्पनीले आधिकारीक जानकारी भने अहिलेसम्म दिएको छैन ।

