काठमाडौं । हुन्डाईले माइक्रो एसयूभी ‘एएक्स’ निर्माण गर्न सुरु गरेको विषयलाई गतवर्ष हुन्डाई इन्डियाका तत्कालीन एमडी तथा सीइओ वाई के कुले जानकारी दिएका थिए । तर, त्यसपछि उक्त माइक्रो एसयूभी कस्तो हुने तथा कहिलेबाट बजारमा आउने भन्ने विषयमा केही जानकारी बाहिर आएको थिएन ।
अब भने दक्षिण कोरियाली पत्रिका ‘डिजिटल टाइम्स’ले हुन्डाईको माइक्रो एसयूभी प्रोजेक्ट अगाडि बढेको उल्लेख गरेको छ । बजारमा आएसँगै हुन्डाईको यो सबैभन्दा सस्तो माइक्रो एसयूभी हुनेछ ।
कम्पनीले बनाउन लागेको उक्त माइक्रो एसयूभी भारतीय बजारलाई केन्द्रमा राखेर निर्माण सुरु गरिएको छ भने भारतपछि कोरिया, ब्राजिल, नेपाल जस्ता देशमा बिक्री वितरण गर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले ग्वान्झु सहरमा रहेको आफ्नो नयाँ प्लान्टमा उत्पादन गरिरहेको डिजिटल टाइम्सले दाबी गरेको छ ।
यसलाई कम्पनीले नयाँ जेनेरेशन सेन्ट्रोको के१ प्ल्याटफर्ममा निर्माण गर्ने अनुमान गरिएको छ । उक्त ग्वान्झु प्लान्टबाट वार्षिक ७० हजार यूनिट माइक्रो एसयूभी उत्पादन हुने अनुमान गरिएको छ ।
कम्पनीले एएक्स कोड नेममा उत्पादन गरिरहेको उक्त माइक्रो एसयूभीमा १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसलाई पहिलो पटक भने भारतीय बजारमा नै सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ ।
नयाँ एएक्स माइक्रो एसयूभीले भारतीय बजारमा रेनो क्वीड, मारुती सुजुकी एस–प्रेसो, टाटा हर्नविलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
कम्पनीको यो मोडल सेन्ट्रो र ग्रान्ड आई १० को बीचको मोडल हुनेछ । यसलाई २०२० को अन्त्य वा २०२१ को पहिलो क्वाटमार बजारमा उतार्ने अनुमान गरिएको छ ।


