काठमाडौं । लामो समयको लकडाउन अझै जारी रहेको छ । कोभिड १९ का कारण विगत ७८ दिनदेखि लकडाउनको स्थिति रहेको छ । जेठ २५ गतेदेखि लकडाउनको मोडालिटी परिवर्तन गर्ने भनिएता पनि सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन । यद्यपी बजारमा चहलपहल भने सुरु भएको छ ।
कतिपय स्थानमा लकडाउनको अवज्ञा गरेर नै पसलहरु खुल्न थालेका छन् । यसै क्रममा कतिपय अटोमोवाइल कम्पनीहरु खुलेका छन् भने सडकमा बाक्लै रुपमा सवारीसाधन संचालनमा आएका छन् । गाडी तथा मोटरसाइकलका शोरुमहरु भने अझै खुलेका छैनन् । केही मोटरसाइकल कम्पनीले लकडाउन लक्षित योजना ल्याएका छन् ।

उपत्यकामा रहेका कतिपय रिकन्डिसन हाउसहरु खुल्न थालेका छन् । मध्य बानेश्वरमा रहेको धेरै जसो रिकन्डिसन पसल हिजोबाट खुलेका छन् । यसका साथै अन्य एरियामा रहेका यस्ता पुराना मोटरसाइकल खरिद बिक्री गर्ने कम्पनीहरु खुलेका छन् ।
‘अहिले पसल खोलेर सरसफाइ गर्ने काम गरिरहेको छौं, मोटरसाइकल किन्ने ग्राहक आएपनि बिक्री गर्ने अबस्था छैन । मोटरसाइकल नामसारीका लागि यातायात कार्यलय पुग्नै पर्ने बाध्यता छ । यस्तोमा अहिले तत्काल मोटरसाइकल बिक्री गर्न सकिन्न’, मध्यबानेश्वर स्थित एसएनबी इन्टरप्राइजेजका संचालक राजु शाक्यले भने ।
लकडाउन पश्चात सेकेन्ड ह्यान्ड मोटरसाइकलको बजार बढ्ने अनुमान रहेको उनले बताए । सामाजिक दुरि कायम गर्नका लागि मोटरसाइकल नै उत्तम बिकल्प रहेकाले पुराना मोटरसाइकलको बिक्री बढ्ने विभिन्न अध्यनले देखाएको छ ।

शाक्यका अनुसार उनको रिकन्डिसन हाउसमा ३५ हजार रुपैयाँको स्कुटरदेखि ४ लाख रुपैयाँसम्मको सेकेन्डह्यान्ड मोटरसाइकल बिक्रीको लागि राखिएको छ ।
यस्तै मध्यबानेश्वरमा नै रहेको अधिकारी अटोज्का संचालक सरोज अधिकारीको पनि यस्तै बुझाई रहेको छ ।
‘अहिले पहिला बिक्री गरिएका मोटरसाइकलको बाँकी पैसा उठाउने, मोटरसाइकलहरु स्र्टाट गर्ने कामका लागि पसल खोलेका छौँ । यातायात कार्यालय खुलेपछि मोटरसाइकल बिक्री गर्ने छौँ’, अधिकारीले भने ।

अधिकारीको रिकन्डिसन हाउसमा ४० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्मका मोटरसाइक तथा स्कुटर उपलब्ध रहेको उनले जानकारी दिए । मध्य बानेश्वर, कलंकी, चाबहिल लगायतका क्षेत्रमा खुलेका मोटरसाइकलका रिकन्डिसन हाउसहरुले लकडाउन खुलेपछि मात्रै ग्राहकलाई सेवा प्रदान गर्ने जनाएका छन् ।
मोटरसाइकलको किनबेच यातायात कार्यालय खुलेपछि मात्रै हुने हुँदा उनिहरु लकडाउन खुल्ने प्रतिक्षामा रहेका छन् । लकडाउन खुलेपछि कम मूल्यमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तयार रहेको उनीहरुको भनाई छ ।


