काठमाडौं । सरकारले आजबाट देशभरका यातायात कार्यालयहरु सूचारु गर्ने निर्णय गरेको छ । तर, प्रदेश २ र १ का यातायात कार्यालयले भने सबै कार्यालयहरु सूचारु गर्न नसकिएको भन्दै सूचनाजारी गरेका छन् ।
यसै क्रममा बागमती प्रदेश अन्तर्गतका सबै यातायात कार्यालयहरु भने खुल्ला गरिएको छ । हाल सबै कार्यालयबाट सवारी कर सेवा खुल्ला गरिएको हो । बागमती प्रदेशका यातायात विभाग महाशाखा प्रमुख यादव आचार्यले सबै कर्मचारीहरु काममा आउन नसकेको कारण सबै सेवा सुचारु गर्न नसकिएको बताए ।
उनले धेरै कर्मचारी गाँउ गएका र जोर–विजोर सवारी सञ्चालन भएकाले कार्यालयमा कर्मचारी अभाव रहेको जानकारी दिए ।
आचार्यले हाल कर र राजश्व असुलीको काम भइरहेको र विस्तारै सबै सेवाहरु सुरु गरिदै लैजाने बताए ।
‘सबै सवारी गुडेका छैनन्, कर्मचारीहरु घरगाँउ पुगेकाले दुरदराजका कर्मचारी आउन सकेका छैनन्, जोर–विजोर पनि लागु भएको छ, यसले पनि सवारी भएका सबै कर्मचारी आउने अवस्था बनेको छैन,’ आचार्यले भने ।
उनका अनुसार अहिले कर तथा राजश्व संकलन सेवा सुचारु भएको छ ।
यस्तै यातायात व्यवस्थापन कार्यालय ग्रुजुधराले पनि आजबाट कार्यलय सुचारु गरेको छ । यहाँबाट मोटरसाइकलको लागि सेवा दिइने छ । अहिले कर सेवा सुरु भए पनि अन्य सेवा भने सुरु नभइसकेको कार्यालयका सूचना अधिकारी सुरेश खनालले बताए ।
उनका अनुसार कर तिर्न आउने र अन्य कामको लागि आउने मानिसको आवश्यकता हेरेर सेवाहरु बढाउदै लैजाने छ । कर्मचारीहरु सबै आउन सम्भव नहुँदा सबै सेवा सुरु गर्न समस्या भएको उनले बताए । उनले १ साता भित्र मोटरसाइकल रजिष्ट्रेसन समेत सुरु गर्ने बताए ।
यस्तै यातायात व्यवस्थापन कार्यालय एकान्तकुना पनि आजबाट सञ्चालनमा आएको छ । सो कार्यलयले समेत कर सेवा सुचारु गरेको छ । सबै कर्मचारी उपत्यका भित्र नभएकाले सबैको उपस्थिती नभएको कार्यलयका राजन पोखरेलले बताए ।
उनका अनुसार काम सुरु गरेसँगै सबै सेवा सूचारुका लागि पूर्व तयारी गरिने छ । क्रमश सेवाहरु सुरु गर्दै लैजाने उनले बताए । असार १५ सम्म गाडी रष्ट्रिेशनको काम समेत सुरु गरिने उनको भनाई छ ।
यातायात व्यवस्था विभागले गर्ने नयाँ लाईसेन्सको परिक्षा, ट्रायल र वितरणको काम भने अहिले नै सुरु हुने छैन ।

