काठमाडौं । अहिले नेपालमा मोटरसाइकल बिक्री गर्ने अधिकांश कम्पनीले अफर ल्याएका छन् । यी अफर सुन्न जति रमाइलो लाग्छ । यथार्थमा केही कठोर पनि छ ।
मोटरसाइकल बिक्रेता कम्पनीहरुले अफरको नाममा १७.५ प्रतिशत व्याजदर ४ प्रतिशतसम्म सर्भिस चार्ज लिएर मोटरसाइकल बिक्री गर्ने योजना ल्याएका छन् ।
अहिले अफर ल्याउने कम्पनीहरुले लगाएको व्याजदर बैंकिङ क्षेत्रको व्याजदरको तुलनामा दोब्बर बढी हो । ग्राहकलाई सजिलो बनाउने नाममा आएका यी अफरमा मोटरसाइकल किन्दा ठूलो रकम व्याज वापत ग्राहकले तिर्नु पर्ने हुन्छ ।
अहिले अफर ल्याउने टीभीएस, बजाज, यामाहा लगायत कम्पनीले लगाएको व्याजदर लगभग उस्तै रहेको छ । यद्यपी ५० प्रतिशत डाउन पेमेन्ट गर्नेले बजाज र यामाहाका मोटरसाइकल किन्दा एक वर्षमा कर्जा चुक्तागर्दा व्याज नलाग्ने योजना अगाडि ल्याएका छन् ।
होन्डाले भने अन्य कम्पनीको तुलनामा केही कम व्याजदरमा कर्जा दिने अफर गरेको छ । कम्पनीले ल्याएको योजनामा अधिकतम १३ प्रतिशतसम्म व्याज लाग्ने छ ।
नगदमा किन्नेलाई धेरै फाइदा
कम्पनीहरुले ल्याएको अफर हेर्दा नगद छुटको स्कीम निकै आकर्षक रहेको छ । अधिकांश कम्पनीले ठूलो रकम छुट दिने योजना ल्याएका छन् । होन्डाले आफ्ना मोडलमा कुनै नगद छुट दिएको छैन ।
बजाजले आफ्ना सबै मोडलमा १२ हजार नगद छुट दिने अफर ल्याएको छ भने यामाहाले हरेक खरिदमा १० हजार रुपैयाँ नगद छुट प्रदान गर्नेछ ।
टीभीएसले मोटरसाइकलमा १० हजार र स्कुटरमा १२ हजार नगद छुटको स्कीम ल्याएको छ भने सुजुकीले १५ हजार नगद छुट दिने घोषणा गरेको छ । सुजुकीका मोटरसाइकल नगद, किस्ता वा एक्स्चेन्ज जे गरेपनि १५ हजार रुपैयाँ छुट हुने छ ।
यी बाहेक पनि मोटरहेड, बेनेली, बिएमडब्ल्यू जस्ता ब्राण्डले पनि नगद छुट र अन्य आकर्षक अफर गरेका छन् ।
निष्कर्ष
मोटरसाइकल कम्पनीले ल्याएका फाइनान्सियल स्कीम वित्तीय संस्थाले ल्याउने भन्दा महंगा रहेका छन् । यस्तोमा तपाईको आम्दानी र खर्चको अनुपात मिलाएर मोटरसाइकल छनोट गर्नु बुद्धिमानी हुन्छ ।
यदि तपाई नगदमा मोटरसाइकल किन्न सक्ने अवस्थामा हुनुहुन्छ भने यो तपाईको लागि निकै फाइदाको अफर हो । ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम १२ किस्तामा बुझाउनेगरि किन्ने योजना बनाउने मानिसले पनि नगद छुट र व्याज तिर्नु नपर्ने हुँदा यस्ता ग्राहकले फाइदा लिन सक्ने छन् ।
सामान्य समयको जस्तै ४० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्नेले पनि अहिले आएका अफरबाट केही राहत पाउने देखिन्छ । तर, ३६ किस्तामा मोटरसाइकल किन्ने योजना भने ग्राहकलाई निकै महंगो पर्ने देखिन्छ ।

