काठमाडौं । नेपाली बजारमा कम मूल्यमा उत्कृष्ट फ्यामली कार खोज्नेलाई हुन्डाई सेन्ट्रो र मारुती सुजुकी सेलेरियो मध्ये एउटा उत्कृष्ट छनोट हुन सक्छ । यी दुबै कार बी सेग्मेन्ट ह्याचव्याक कार हुन् ।
हुन्डाई सेन्ट्रो र सेलेरियो दुबै मोडलका विभिन्न भेरियन्टमा बिक्री बितरण हुँदै आएका छन् । हुन्डाई सेन्ट्रोमा १०८६ सीसी क्षमताको ४ सिलिण्डर इन्जिन दिइएको छ भने सेलेरियोमा ९९८ सीसी क्षमताको ३ सिलिण्ड इन्जिन दिइएको छ ।
पावरपनि यी दुबै कारमा लगभग उस्तै रहेको छ । सेन्ट्रोमा रहेको इन्जिनले अधिकतम ५५०० आरपीएममा ६८ बीएच पावर प्रदान गर्छ भने सेलेरियोले ६००० आरपीएममा ६७ बीएच पवार दिन्छ ।
माइलेजमा सेन्ट्रोभन्दा सेलेरियो केही अघि रहेको छ । सेन्ट्रोले प्रतिलिटर २० र सेलेरियोले २१ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।
दुबैमा समान २३५ लिटरको बुट स्पेश, ३५ लिटरको इन्धन ट्याङ्की उपलब्ध रहेको छ । ५ जनाले आरामसँग यात्रा गर्न मिल्ने यी दुई कारको मूल्यपनि लगभग उस्तै रहेको छ ।
सेलेरियोमा अफर
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले ल्याएको अफरमा बि-सेग्मेन्ट कार सेलेरियो किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर नयाँ कार खरिद गर्न सक्ने छन् ।
कम्पनीले सेलेरियोको वेस भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो कारमा कम्पनीले १ लाख २५ हजार रुपैयाँ नगद छुटको व्यवस्था गरेको छ । उक्त नगद छुट घटाउदा गाडीको मूल्य २३ लाख ७४ हजार रुपैयाँ हुन्छ । कम्पनीले अन्य थप दुई भेरियन्टको बिक्री समेत गर्दै आएको छ ।

ग्राहकले २३ लाख ७४ हजार रुपैयाँको २५ प्रतिशत हुन आउने रकम ५ लाख ९३ हजार ५०० रुपैयाँ जम्मा गरेर गाडी किन्न सक्ने छन् । ग्राहकले यो अफरमा कार किन्दा कर्जा वापत १७ लाख ८० हजार ५०० रुपैयाँ लिनु पर्ने हुन्छ ।
यसरी लिएको कर्जामा ११ प्रतिशत व्याजदर लाग्ने छ । उक्त व्याजदरमा ८ वर्षमा कारको सम्पूर्ण रकम चुक्ता गर्नेगरि किन्दा ग्राहकले मासिक करिब २८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । अनुमानित मासिक किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् ।
सेन्ट्रोमा अफर
हुन्डाई मोटर्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल्स प्रालिले सार्वजनिक गरेको नयाँ अफर अनुसार कम्पनीको चर्चित इन्ट्री लेवल कार सेन्ट्रो चढ्ने ग्राहकले सुरुको एक वर्ष ८ हजार ७७६ रुपैयाँ मासिक किस्ता तिरे पुग्ने जनाएको छ ।
कम्पनीले सार्वजनिक गरेको अफरमा सुरुको एक वर्षसम्म मासिक किस्ताको ५० प्रतिशत रकम कम्पनीले र ५० प्रतिशत रकम ग्राहकले तिर्नु पर्ने हुन्छ ।

कम्पनी स्रोतका अनुसार हुन्डाईका गाडी किन्न चाहने ग्राहकले न्यूनतम १०.२२ प्रतिशत व्याजदरमा अटोलोन पाउने छन् । सेन्ट्रोको इन्ट्री भेरियन्ट बीएस-६ इन्जिन भएकाे इराको मूल्य २३ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले १ लाख रुपैयाँ नगद छुट दिने जनाएको छ । यस हिसावले गाडी किन्ने ग्राहकलाई यसको मूल्य २२ लाख ९६ हजार रुपैयाँ मात्र पर्ने छ ।
ग्राहकले यसलाई ८ वर्षको लागि किस्ता बनाएर किन्न सक्ने छन् । सुरुवातमा ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी ११ लाख ४८ हजार रुपैयाँलाई ग्राहकले मासिक किस्तामा तिर्दा १७ हजार ५५३ रुपैयाँका दरले तिर्नु पर्ने हुन्छ । सम्पूर्ण किस्ता थाहापाउन यहाँ क्लिक गर्नुहोस् ।
हुन्डाईले सेन्ट्रोमा आर्थिक वर्ष २०७७/७८ को सडक दस्तुर, स्पट एक्स्चेन्ज, ४ वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गरेको छ ।


