काठमाडौं । यामाहाले ३०० सीसी क्षमताको एडभेञ्चर बाइक भारतमा उत्पादन गर्ने तयारी गरिरहेको विभिन्न अन्तर्राष्ट्रिय अटो मिडियाले उल्लेख गरेका छन् । भारत विश्वमै धेरै ठूलो मध्येको एक मोटरसाइकल बजार हो । यस्तोमा यामाहाले बजार सुहाउँदो एडभेञ्चर मोटरसाइकल भारतमा उत्पादन सुरु गर्न लागेको बताइएको छ ।
विश्वमा यामाहाको ट्यानरी ७०० चर्चित एडभेञ्चर मोटरसाइकलमा पर्छ । यस्तोमा कम्पनीले यहि मोडलको बेसमा ३०० सीसी क्षमताको बाइक ल्याउन लागेको अनुमान गरिएको छ ।
यामाहाले ल्याउने नयाँ एडभेञ्चर मोटरसाइकलले भारतीय बजारमा बिएमडब्ल्यू जि ३१० जिएस, केटीएम २५० एडभेञ्चर र हिरोले ल्याउन लागेको नयाँ एडभेञ्चर मोटरसाइकलसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
बढ्दो बजारलाई यामाहाले नजिकबाट हेरिरहेको र ग्राहकको चाहना अनुसार नयाँ मोडलको तयारी भइरहेको यामाहाले जनाएको छ । यद्यपी यामाहा इन्डियाले भने यस विषयमा कुनै आधिकारीक धारणा व्यक्त गरेको छैन ।
यदि यामाहाले भारतीय बजारमा यो मोटरसाइकल ल्याउने हो भने यसमा एमटी ०३ मा रहेको इन्जिन दिने अनुमान गरिएको छ । एमटी ०३ मा ३२१ सीसी क्षमताको दुई सिलिण्ड भएको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १० हजार ७५० आरपीएममा ४१ पीएस पावर र ९००० आरपीएममा २९.६ एनएम टर्क प्रदान गर्ने छ ।


