काठमाडौं । स्पोट्स यूटिलिटी भेहिकल (एसयूभी) निर्माणमा अन्तर्राष्ट्रिय अटो उत्पादक बीच कडा टक्कर चलिरहेको छ । यस्तोमा विभिन्न कम्पनीको उद्देश्य कम मूल्यमा उत्कृष्ट फिचर भएको एसयूभी निर्माण गर्नु हो ।
अहिले हुन्डाई र टाटाले माइक्रो एसयूभी सेग्मेन्टमा आफ्ना आफ्ना उत्पादन बजारमा ल्याउन लागेका छन् । यी दुई कम्पनीले ल्याउने माइक्रो एसयूभी ग्राहकले पनि कस्तो आउने छ भनेर अनुमान गर्न सुरु गरेका छन् । हुन्डाईले एएक्स र टाटाले एचबीएक्स कोण नेममा उत्पादन गरिरहेको यी दुई गाडी सन् २०२१ मा बजारमा आउने छन् ।
भारतमा कम मूल्यमा एसयूभी ल्याउने अहिले होडबाजी नै चलिरहेको छ । यस्तोमा भारतीय कम्पनी टाटा र कोरियन कम्पनी हुन्डाईले यही सेग्मेन्टमा नयाँ गाडी ल्याउन लागेका हुन् ।
नेपालमा पनि यी दुबै कम्पनीका उत्पादन बिक्री वितरण भइरहेकाले अहिलेसम्म बाहिर आएका यी दुई माइक्रो एसयूभीको विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।
हुन्डाई एएक्स
हुन्डाईले माइक्रो एसयूभी ‘एएक्स’ निर्माण गर्न सुरु गरेको विषय सन् २०१८ को अन्त्यमा तात्कालीन हुन्डाई इन्डियाका एमडी तथा सीइओ वाई के कुले जानकारी दिएका थिए । तर, उनले उक्त माइक्रो एसयूभी कस्तो हुने तथा कहिलेबाट बजारमा आउने भन्ने विषयमा कुनै जानकारी दिएनन् ।
सन् २०२० को सुरुवातमा दक्षिण कोरियाली पत्रिका ‘डिजिटल टाइम्स’ले हुन्डाईको माइक्रो एसयूभी प्रोजेक्ट अगाडि बढेको उल्लेख गर्दै एउटा समाचार प्रकाशन गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले बनाउन लागेको उक्त माइक्रो एसयूभी भारतीय बजारलाई केन्द्रमा राखेर निर्माण सुरु गरिएको छ । भारतपछि कोरिया, ब्राजिल, नेपाल जस्ता देशमा बिक्री वितरण गर्ने अनुमान गरिएको छ । यसलाई कम्पनीले ग्वान्झु सहरमा रहेको आफ्नो नयाँ प्लान्टमा उत्पादन गरिरहेको डिजिटल टाइम्सले दाबी गरेको छ ।
नयाँ जेनेरेशन सेन्ट्रोको के१ प्ल्याटफर्ममा निर्माण सुरु भएको यो एसयूभी सन् २०२१ बाट बजारमा आउने अनुमान गरिएको छ । उक्त ग्वान्झु प्लान्टबाट वार्षिक ७० हजार यूनिट माइक्रो एसयूभी उत्पादन हुने अनुमान गरिएको छ ।
कम्पनीले एएक्स कोड नेममा उत्पादन गरिरहेको उक्त माइक्रो एसयूभीमा १.० लिटर टर्बो इन्जिनमा ल्याउने छ । यसलाई पहिलो पटक भने भारतीय बजारमा नै सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ ।
टाटा एचबीएक्स
टाटा मोटर्सले आक्रमक बजार बिस्तार गर्ने योजना अनुरुप नयाँ नयाँ मोडल ल्याउने कामलाई तिब्रता दिदै आएको छ । कम्पनीले बढ्दो एसयूभी सेग्मेन्टको वृद्धिलाई ध्यानमा राख्दै माइक्रो एसयूभी ‘एचबीएक्स’ यही वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गरिएको छ ।

यसलाई कम्पनीले सन् २०२० को अटो एक्स्पोमा सार्वजनिक गरेको थियो । कम्पनीले देखाएको एचबीएक्समा स्प्लीट हेडल्याम्प रहेको छ ।
सेमि-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरको साथ आउने एचबीएक्समा ७ इन्चको कलर डिस्प्ले दिइएको छ । जहाँ भर्चयूल टेकोमिटर, चालकलाई आवस्यक पर्ने गाडी सम्बन्धी सूचना प्राप्त हुनेछ ।
ड्यास टप टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टमको साथ आउने नयाँ एचबीएक्समा क्रुज कन्ट्रोलको सुविधा पनि उपलब्ध हुने अनुमान गरिएको छ ।


