काठमाडौं । हार्ले डेभिड्सन भारतबाट बाहिरिने भएको छ । अमेरिकी निर्माता कम्पनी हार्लेले भारत लगायतका देशबाट आफ्नो प्लान्ट हटाउने भएको हो ।
कम्पनी मेनेजमेन्टका अनुसार आफ्नो मुख्य बजारमा केन्द्रित हुने र कम मात्रामा बिक्री हुने देशबाट बाहिर निस्कने रणनीतिमा केन्द्रित हुने बताएका छन् । भारतीय बजारमा पनि हार्लेका मोटरसाइकल अपेक्षित रुपमा बिक्री हुन नसकेकाले बाहिर निस्कने भएको जनाइएको छ ।
हार्लेले भारतको बवाल हरियानमा एसेम्वल गर्दै आएको छ । हाल भारतमा ७५० स्ट्रीट र ७५० रड एसेम्बल भइरहेको छ । कम्पनीले आफ्ना मोटरसाइकल धेरै बिक्री हुने बजारमा केन्द्रित हुँदै अहिले उत्पादन भइरहेका मोडलबाट ३० प्रतिशत मोडल कटौति गर्ने भएको छ ।
हार्लेले भारतमा यो आर्थिक बर्षको अन्त्यसम्ममा २५०० यूनिट बिक्री भएको छ भने २१०० यूनिट निर्यात गरेको छ । हार्लेले ग्लोवल मार्केटमा २ लाख १० हजार यूनिट मोटरसाइकल बिक्री गरेको छ ।
अप्रिल जुनमा भारतमा ८७ प्रतिशतले बिक्री घटेको छ भने निर्यात ४० प्रतिशतले घटेको छ ।
केहि समय अगाडि अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रपको भारत भ्रमणको क्रममा हार्ले डेभिड्सनमा लाग्दै आएको ट्याक्स घटाउने बताइएको थियो ।
भारतीमा हार्लेले उत्पादन थालेसँगै नेपाल भित्रिएको हार्लेको भबिष्य हार्ले भारतबाट फिर्ता जादाँ अन्योलमा पर्ने देखिन्छ । हाल भारतमा उत्पादन भएको ७५० सिरिज नेपाली बजारमा बिक्री भइरहेको छ ।
नेपाली बजारमा नगन्य मात्रामा बिक्री हुने हार्ले भारतीय बजारबाट बाहिरिने हुँदा नेपालमा हार्लेको मोटरसाइकलको मूल्यमा वृद्धि हुने देखिन्छ । भारतभन्दा तेस्रो मुलुकबाट आयात गर्दा यसको मूल्य स्वत बढ्ने छ ।
हार्लेको मोटरसाइकल नेपालमा आईएमई मोटर्सले बिक्री गर्दै आएको छ । दुई बर्ष अघि नेपाल प्रवेश गरेको हार्लेले नेपालमा राम्रो व्यापार गर्न सकिरहेको छैन ।


