काठमाडौं । टोयोटाले भारतमा बनाउने सबैभन्दा महंगो मोडल फर्चुनरको फेसलिफ्ट मोडल सार्वजनिक भएको छ । साथै, कम्पनीले फर्चुनरको नयाँ भेरियन्ट लिजेन्डर समेत बजारमा ल्याएको छ ।
भारतमा नै फर्चुनर लिजेन्डरको मूल्य ‘फर्चुनर २.८’ लिटर फोर वाई फोरको तुलनामा ३ लाख भारुले महंगो रहेको छ । यसको मतलव लिजेन्डरको मूल्य नेपालमा उक्त टप स्पेकको तुलनामा करिब २० लाख रुपैयाँले महंगो हुने देखिन्छ । यद्यपी लिजेन्ड नेपाल आउँछ वा आउँदैन अहिल्यै भन्न सकिने अवस्था छैन ।
टोयोटा फर्चुनरको अगाडिको भागमा धेरै परिमार्जन देख्न सकिन्छ । कम्पनीले यसमा दिइएको हेडलाइट, डेटाइम रनिङ लाइट, ग्रिल, अगाडिको बम्पर र ह्वीलमा परिमार्जन गरेको छ । सबै लाइट एलइडी प्रयोग गरिएको छ भने १८ इन्चको अलोय ह्वील दिइएको छ ।

कम्पनीले यसको इन्टेरियरमा पनि परिमार्जन गरेको छ । यसमा ८ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, अपग्रेड गरिएको इन्ट्रुमेन्ट कन्सोल, ८ तरिकाले मिलाउन सकिने भ्यान्टिलेटेड ड्राइभिङ सिट, जेविएलको ११ वटा स्पीकर, एलइडी एम्बीएन्ट लाइट, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६० डिग्रि क्यामेरा जस्ता फिचर यसमा रहेका छन् ।
लिजेन्डर भेरियन्टको अगाडिको ग्रिल रेगुलर मोडलको तुलनामा फरक दिइएको छ । कम्पनीले यसमा स्प्लीट ग्रिल र फरक किसिमको फ्रन्ट बम्पर दिएको छ । यसमा डेटाइम रनिङ लाइट र एलइडी प्रोजेक्टर हेडल्याम्प रहेको छ ।
यो भेरियन्टमा क्रोम फिनिसिङ ग्रिललाई हटाएर ग्लोसी व्ल्याक फिनिसिङ दिइएको छ । यसमा दिइएको अलोय ह्वील पनि फरक डिजाइनको रहेको छ । यसमा कलर कम्बिनेसन पनि फरक दिइएको छ ।
टोयोटा फर्चुनर फेसलिफ्ट २.७ लिटर पेट्रोल र २.८ लिटर डिजेल इन्जिनमा उपलब्ध रहने छ । यसमा रहेको पेट्रोल इन्जिनले १६६ हर्स पावर र २४५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरि डिजेल इन्जिन अधिकतम २०४ हर्स पावर र ४२० एनएम टर्क प्रदान गर्ने छ । कम्पनीले यसलाई ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्र्भटर अटोमेटिक गियरबक्स दिएको छ । लिजेन्डर भेरियन्ट भने ६ स्पीड अटोमेटिक गियरबक्समा मात्रै उपलब्ध रहने छ ।

