काठमाडौं । यामाहाले नेपालमा रेगुलर मोडलदेखि बिग बाइकसम्म विक्री सुरु गर्दैछ । यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले भारत, ब्राजिल, इन्डोनेशिया लगायतका देशमा उत्पादन र विक्री वितरण भइरहेका मोटरसाइकल नेपाल ल्याइरहेको छ । यस्तोमा कम्पनीले सन् २०२१ मा दुई नयाँ मोडल ल्याउन सक्ने देखिएको छ ।
कम्पनीले रेट्रो डिजाइनमा आधारित एक्सएसआर १५५ र एड्भेन्चर मोडल डब्ल्यूआर १५५ आर मोटरसाइकल नेपाल ल्याउन सक्ने देखिएको हो । यी दुबै मोटरसाइकल अहिले थाइल्याण्डमा विक्री वितरण हुँदै आएको छ । यामाहाले २०२१ मै भारतमा पनि यसको विक्री सुरु गर्ने भएकाले नेपाल आउने सम्भावना अझ धेरै भएको अनुमान लगाउन सकिन्छ ।
यामाहाले अहिले एक्सएसआर १५५ मोडल थाइल्याण्डमा विक्री वितरण गर्दै आएको छ । यामाहाको बिग बाइक एक्सएसआर ७०० र ९०० मा आधारित यो मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो यामाहाले आर १५ भि थ्रिमा प्रयोग गरेको इन्जिन हो । उक्त इन्जिनले अधिकतम १९.३ पीएस पावर र १४.७ एनएम टर्क प्रदान गर्छ ।
अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्स रहेको यो मोटरसाइकलमा स्लीपर क्लचको साथ ६ स्पीड गियरबक्स रहेको छ । अलोय ह्वील, एबीएस, दुबै चक्कामा डिस्क ब्रेक जस्ता फिचर रहने यस मोटरसाइकलको मूल्य एमटी १५ र आर १५ भि थ्रिको हाराहारीमा पर्नेछ ।
यामाहाले थाइल्याण्डमा नै विक्री सुरु गरेको अर्को मोडल हो डब्ल्यूआर १५५ आर । यो एड्भेन्चर मोटरसाइकल हो । कम्पनीले यसमा पनि १५५ सीसी क्षमताको लिक्वीड कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १६.७ पीएस पावर र १४.३ एनएम टर्क प्रदान गर्छ ।
एड्भेन्चर मोडल भएकोले यसमा लामो यात्रा गर्न सहज हुने सस्पेन्स दिइएको छ । यसको अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि ५ स्टेपमा एड्जस्ट गर्न मिल्ने प्रि लोडेड एडेजस्टेवल मोनोशक दिइएको छ ।
अफरोडलाई ध्यानमा राखेर ल्याइएको यो मोटरसाइकलमा अगाडि २१ इन्चको ह्वील र पछाडि १८ इन्चको ह्वील दिइएको छ । अफरोड मोटरसाइकल भएको कारण यसको मूल्य आर १५ भन्दा केहि महंगो हुनसक्ने छ ।

